बुधबारको तुलनामा बिहीबार नेप्से ०.६४ प्रतिशतले घटेको हो ।
काठमाडौँ — सेयर कारोबार नेप्से परिसूचक बिहीबार साढे १७ अंकले घटेको छ । अघिल्लो दिन ५ अंकले बढेर बन्द भएको नेप्से बिहीबार १७.५३ अंकले घटेर २ हजार ७ सय १४.०५ अंकमा ओर्लेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से ०.६४ प्रतिशतले घटेको हो ।
कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्यो, १७० कम्पनीको मूल्य घट्यो । र बाँकी ५ कम्पनीको स्थिर रहयो ।
बिहीबार कुल १ लाख ३८ हजार ८ सय ८३ पटकको सेयर किनबेचमा ३ करोड ५४ लाख ७७ हजार ९ सय ३९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार सेयर बजारमा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, लगानी र सामुहिक लगानी कोषको परिसूचक सामान्य सकारात्मक रहे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले ओरालो लागेको हो ।
