न्युयोर्क र म्याड्रिडका पर्यटन मेलामा नेपाल 

२४–२५ जनवरी २०२६ मा न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शोमा एनटीबीले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा सहभागिता जनाएको थियो।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Nepal at tourism fairs in New York and Madrid

What you should know

काठमाडौँ — नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो पहिचान अझ मजबुत बनाउने उद्देश्यसहित हालै अमेरिका र युरोपका दुई ठूला पर्यटन मेलामा  सहभागिता जनाएको छ। 

नेपाल पर्यटन बोर्डले न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शो २०२६ र स्पेनको म्याड्रिडमा सम्पन्न फिटुर २०२६ मा सहभागिता जनाउँदै ‘डेस्टिनेसन नेपाल’ प्रवर्द्धन गरेको हो।

२४–२५ जनवरी २०२६ मा न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शोमा एनटीबीले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा सहभागिता जनाएको थियो।

कार्यक्रममा छ वटा नेपाली पर्यटन कम्पनीहरूले साहसिक पर्यटन, पर्वतारोहण र ट्रेकिङका विविध सम्भावनाबारे जानकारी प्रस्तुत गरेका थिए। अमेरिकी पर्यटक तथा व्यवसायीहरूले नेपालको साहसिक पर्यटनप्रति विशेष चासो देखाएका थिए। अमेरिका हाल नेपालका लागि दोस्रो ठूलो पर्यटक स्रोत बजार हो।

यता, युरोपको सबैभन्दा ठूला पर्यटन मेलामध्ये एक फिटुर २०२६ जनवरी २१–२५ मा म्याड्रिडमा सम्पन्न भयो। ६१ देशका १० हजारभन्दा बढी कम्पनी सहभागी उक्त मेलामा पर्यटन बोर्ड र नेपाल ट्राभल एन्ड टुर एजेन्सी संघ (नाट्टा) को सहकार्यमा ३० नेपाली पर्यटन उद्यमी सहभागी भए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला पनि यो मेलामा नेपालको प्रचारमा व्ययवसायीहरुसंगै सहभागी भएको बोर्डले जनाएको छ । 

एनटीबीले फिटुरजस्ता प्रभावशाली अन्तर्राष्ट्रिय मेलाले स्पेन र पश्चिम युरोपमा नेपाललाई ट्रेकिङ र पर्वतारोहण मात्र होइन, संस्कृति, जैविक विविधता र बहुभाषिक–बहुसांस्कृतिक गन्तव्य का रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । मेलाको क्रममा ‘नेपाल कनेक्ट’ नामक नेटवर्किङ कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग सहकार्य विस्तारमा जोड दिइएको थियो।

फिटुरको नेपाल प्याभिलियनमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक कार्यक्रमले अन्तर्राष्ट्रिय दर्शकको ठूलो आकर्षण बटुलेको थियो। नृत्य, संगीत र सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिले नेपाललाई जीवन्त पर्यटन गन्तव्यका रूपमा चिनाउन सहयोग पुगेको आयोजकको भनाइ छ।

यी दुई अन्तर्राष्ट्रिय मेलामा गरिएको सहभागिताले उत्तर अमेरिका र युरोपमा नेपालको पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य विस्तार र दिगो पर्यटन विकासतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको पर्यटन बोर्डको विश्वास छ।

कान्तिपुर

Link copied successfully