नेपाली रुपैयाँ निरन्तर कमजोर 

मंसिर २०८२ मा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.३७ रुपैयाँ पुगेको थियो ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Nepalese rupee continues to weaken

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १४७.४१ रुपैयाँ (बिक्री दर) तोकेको छ ।

यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।

सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यद्यपि गत शनिबार एक अमेरिकी डलरको विनिमय दर १४७.४१ रुपैयाँ थियो ।

एक साताअघि यस्तो विनिमय दर १४६.८१ रुपैयाँ थियो । असार २०८२ को तुलनामा गत मंसिरसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन (कमजोर) भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५ प्रतिशतले अवमूल्यन भएको थियो । मंसिर २०८२ मा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.३७ रुपैयाँ पुगेको थियो । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो । 

डलर महँगिँदा के लाभ, कस्तो नोक्सानी ?

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ ।

डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । पछिल्ला महिनाहरूमा रेमिट्यान्समा लगातार बढोत्तरी आउनुको एउटा कारण डलर बलियो हुनु पनि हो । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ ।

यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बिस्तारै बढ्न थाले पनि अपेक्षित रूपमा बढाउन सकिएको छैन । निर्यात बढी रहेको छ ।

तर, आन्तरिक उत्पादन बढेकाले निर्यात बढेको नभएर भारतबाट कच्चा तेल आयात हुने र यहाँ प्रशोधन भएर भारत निर्यात हुने क्रम बढेकाले जुन दरले निर्यात बढेको छ, त्यो अनुपातको लाभ नेपालले पाउन सकेको छैन ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ ।

कान्तिपुर

Link copied successfully