नेपालगन्जले उठायो १० अर्ब ८८ लाख भन्सार राजस्व

नेपालगन्ज भन्सार कार्यालयले भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भन्सार कार्यालयले राजश्व उठाउने मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई व्यवस्थित बनाउने कुरामा जोड दिए ।

माघ १२, २०८२

रुपा गहतराज

Nepalgunj collects 10.88 billion rupees in customs revenue

What you should know

नेपालगन्ज — खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघ ११ गतेसम्म १० अर्ब ८८ लाख ३० हजार रुपैयाँ भन्सार राजस्व असुल गर्न सफल भएको छ ।

जनवरी २६ का दिन ७४ औं विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । यो वार्षिक लक्ष्यको ४१ प्रतिशत र मासिक लक्ष्यको ८० प्रतिशत हो ।

नेपालगन्ज भन्सार कार्यालयले भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भन्सार कार्यालयले राजश्व उठाउने मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई व्यवस्थित बनाउने कुरामा जोड दिए ।

खुला सीमा र बढ्दो चोरी पैठारीको चुनौतीका बीचमा पनि लक्ष्यको समीप रहेर भन्सार राजश्व उठाउन सफल भएको प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए  । उनले भने, ‘चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्ब ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएका छौं ।’

नेपालबाट उत्पादित बस्तुमा प्लाइउड भएको र जडीबुटी पैठारी हुने गरेको छ भने नेपालगन्ज भन्सार हुँदै चामल, पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी सामान लगायतका बस्तु आयात हुने गरेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

भन्सार दिवसको अवसरमा भन्सार चोरी पैठारीविरुद्ध सडक नाटक, रिक्सा अटो चालकलाईं सचेतनामूलक अभिमुखीकरण तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका सहभागीलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

भन्सार दिवसको अवसरमा निर्याततर्फ सबैभन्दा बढी निर्यात गर्ने गंगा रोजिन एण्ड टर्पेनटाइन, आयततर्फ नेपाल आयल निगम, जय अम्बे स्टिल उद्योग र देवती गुट्खा उद्योगलाई सम्मान गरिएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully