काँकरभिट्टा नाकाबाट ६ महिनामा ९ अर्ब ७७ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ भित्रियो

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो ।

माघ ८, २०८२

रासस

Petroleum products worth over Rs 9.77 billion imported through Kakarbhitta border in 6 months

What you should know

भद्रपुर (झापा) — चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्ब ७७ करोड २ लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार अर्थात् ५ दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात्  रु २५ करोड ४२ लाख ४० हजारले बढेको उनले बताए ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ४ अर्ब ७२ करोड छ लाख मूल्य पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो । 

यसैगरी ३ अर्ब २२ करोड ६५ लाख मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, छ महिनाको अवधिमा  एक अर्ब २४ करोड ७ लाख मूल्य पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख मूल्य पर्ने ४ हजार ११२ किलोलिटर एटीएफ र ९ करोड ५ लाख मूल्य पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्यांक छ ।

रासस

Link copied successfully