गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको हो ।
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले विभिन्न मुलुकहरुसगँ पौने ११ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नौ खर्ब २१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
गएको ६ महिनामा भएको कुल वैदेशिक व्यापारमध्ये ८६.८६ प्रतिशत हिस्सा आयात र १३.१४ प्रतिशत निर्यातको रहेको छ । गत साउनदेखि पुससम्म नौ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आयात १४.१८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । गत वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस्तै, गएको ६ महिनामा नेपालबाट १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष निर्यात ४३.७६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पुससम्म ९८ अर्ब ८७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
गएको ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष व्यापार घाटा १०.१५ प्रतिशतले बढेको हो ।
