चुनावअघि पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

चुनावका कारण खपत बढ्ने भएकाले हरेक डिपोलाई पर्याप्त स्टक राख्न निर्देशन दिने तयारी समेत निगमले गरेको छ ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Consumption of petroleum products, including petrol and diesel, may increase by up to 25 percent before the elections

काठमाडौँ — नेपाल आयल निगमले निर्वाचन केन्द्रित गतिविधिका कारण पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान गरेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोलाई निर्देशन दिन लागेको बताए। चुनावका कारण खपत बढ्ने भएकाले हरेक डिपोलाई पर्याप्त स्टक राख्न निर्देशन दिने तयारी समेत गरिएको उनले बताए।

निर्देशक भट्टले अहिले औसतमा करिब २०/२५ लाख लिटर पेट्रोल र ३८/४० लाख लिटर डिजेल खपत भइरहेको बताउँदै चुनावको १० दिनअघि मात्रै यसमा २० देखि २५ प्रतिशतसम्म खपत बढ्ने अनुमान सुनाए।

निगमले चुनावका बेला केही दिन सीमा नाकाहरू समेत बन्द हुने भएकाले त्यस अवधिका लागि समेत स्टकमा राख्ने गरी तयारी बढाइरहेको छ। निर्देशक भट्टले भने, ‘चुनावका बेला हामी अलि चनाखो भएर कति दिन बोर्डर बन्द हुन्छ, त्यसअनुसार हाम्रा ट्याङ्करहरू र उपलब्ध भण्डारण गृहहरू पूरा भरेर राख्नेछौं।’

उनले अहिले डिजेल करिब १४ दिनका लागि र पेट्रोल करिब १२ दिनका लागि भण्डारण गर्ने क्षमता निगमसँग रहेको बताए।

कान्तिपुर

Link copied successfully