वीरगन्ज नाकाबाट भित्रिन थाल्यो ‘जी टु जी’को युरिया मल

भारत सरकारले उक्त मल तेस्रो मुलुकबाट खरिद गरी नेपाललाई दिएको हो।

माघ ६, २०८२

शंकर आचार्य

'G2G' urea fertilizer begins entering through Birgunj border

पर्सा — नेपाल सरकारले भारत सरकारसँग ‘जी टु जी’ प्रक्रियाबाट खरिद गरेको युरिया मल वीरगन्ज नाकाबाट भित्रिन थालेको छ।

कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार पुसको अन्तिम साता यो कन्साइनमेन्ट युरिया मल बोकेको पहिलो रेलवे र्‍याक वीरगन्ज नाकामा आइपुगेको छ। एक रेलवे र्‍याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ।

भारत सरकारले उक्त मल तेस्रो मुलुकबाट खरिद गरी नेपाललाई दिएको हो। यो कन्साइनमेन्टअन्तर्गत कुल ३० हजार टन युरिया मल भित्रिनेछ। कम्पनीका भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पनि यसै कन्साइनमेन्टबाट युरिया मल पाउनेछन्।

एक महिना यतामात्रै कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको २५ हजार टन डीएपी मल र ३० हजार टन युरिया मल पनि नेपाल भित्रिसकेको पाण्डेले बताए। डीएपी मलको आपूर्ति आदित्य बिरला कम्पनी र युरिया मलको आपूर्ति भारतको आइपीएल कम्पनीले गरेको हो। दुवै कन्साइनमेन्टको मलको कोटा लागेर वितरणसमेत भइरहेको उनले बताए।

कम्पनीले ग्लोबल टेन्डरबाट भित्र्याउन लागेको पोटास मल तेस्रो मुलुकबाट भारतको विशाखापटनम् बन्दरगाहसम्म आइपुगेको उनले बताए। भारतको किसान ट्रेडर्स आपूर्तिकर्ता रहेको यो कन्साइनमेन्टअन्तर्गत १७ हजार ५ सय टन पोटास भित्रिने उनले बताए।

यस बाहेक ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको किसान ट्रेडर्सले नै तेस्रो मुलुकबाट खरिद गरी ल्याएको युरिया मल हाल कोलकाता बन्दरगाह आइपुगेको र सन इन्टरनेशनल कम्पनी आपूर्तिकर्ता रहेको ३० हजार टन युरिया मलको कन्साइनमेन्ट पनि कोलकाता बन्दरगाह पुगिसकेकाले यी दुवै कन्साइनमेन्टको युरिया मल पनि आउँदो एक महिनाभित्र भित्रिसक्ने सम्भावना रहेको पाण्डेले जानकारी दिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा मात्र कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयमा ६५ हजार ५ सय ५३ टन युरिया मल भित्रिएर ५० हजार ९ सय ३२ टन युरिया मातहतका मधेश, बागमती र गण्डकी प्रदेशका १५ जिल्लामा परिचालन भइसकेको उनले बताए। यसै अवधिमा कार्यालयले ३८ हजार ३ सय ३३ टन डीएपी मल भित्र्याएकोमा ३३ हजार ८ सय ७ टन डीएपी मल मातहतका कार्यालयहरूमा परिचालन भइसकेको उनले बताए।

हाल कार्यालयसँग वीरगन्जका विभिन्न गोदामहरूमा गरी १२ हजार ६ सय टन युरिया र ८ हजार १ सय ६२ टन डीएपी मल मौज्दात रहेको उनले बताए। यस बाहेक ३ सय ७१ टन पोटास पनि मौज्दात रहेको पाण्डेले बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully