नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघको आयोजनामा राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरिएको थियो ।
What you should know
काठमाडौँ — नेपाल र क्यानडाबीचको विविध आयामबारे चर्चा गर्दै नेपाल–क्यानडा सम्बन्ध विस्तारमा आइतबार पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६१औं वर्षको स्मरण गर्दै नेपाल र क्यानडाबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सरकारी र निजीस्तरमा गरिनुपर्ने प्रयासका बारेमा सहभागी वक्ताले चर्चा गरे । नेपाल र क्यानडाबीच सन् १९६५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघको आयोजनामा राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्व राजदूत कालीप्रसाद पोखरेललगायतले सम्मान प्रदान गरे ।
कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्धका बारेमा नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका सल्लाहकार आङछिरिङ शेर्पाले कार्यपत्र प्रस्तुत गरे । उनले दुई देशबीचको सम्बन्ध र पर्यटन पर्वतारोहणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको विषयवस्तुबारे नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेलले बताए । नेपाल–क्यानडा मैत्री सांस्कृतिक समाजका सदस्य देवेश ढुंगानाले दुई देशबीचको आर्थिक, सांस्कृतिक, पर्यटनका बारेमा चर्चा गरे ।
नेपाल–क्यानाडा मैत्री सांस्कृतिक संघका पूर्व अध्यक्ष इन्जिनियर केशव कुँवरले मास्के नेतृत्वको संघको नयाँ टिमले सक्रिय भएर काम गरिरहेको बताउँदै धन्यवाद दिए ।
नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघका अध्यक्ष मास्केले दुई देशको सम्बन्ध अझ बलियो बनाउन संस्थाले स्थापनाकालदेखि सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुदजस्ता विविध क्षेत्रमा काम गर्दै आएको स्मरण गराइन् ।
उनले भनिन्, ‘हाम्रो र क्यानडाको बीचमा सांस्कृतिक रूपमा केही समानता छ । हामी पनि हिमाली संस्कृतिमा धनी छौं, क्यानडा पनि हिमाली संस्कृति र सभ्यता भएको देश हो । आगामी दिनमा हामी दुई देशका जनताबीचको आपसी सम्बन्ध विस्तार गर्ने योजना बनाएर काम गर्नेछौं ।’
पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले क्यानडा र नेपालले विश्वस्तरका सामाजिक मुद्दामा एक भएर काम गर्नुपर्नेमा जोड दिए ।
सम्मानित शेर्पाले क्यानेडियन नागरिकसँगै आफूले पहिलो पटक सगरमाथा आरोहण गर्न पाउँदाको क्षणबारे स्मरण गराएका थिए । उनले क्यानेडियन नागरिक लाउरी स्क्रेसलेटसँगै सगरमाथा आरोहण गरेका हुन् । लाउरीसगरमाथा आरोहण गर्ने पहिलो क्यानेडियन नागरिक हुन् । संघले यसअघि कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई सम्मान गरेको थियो ।
