नेपाल सरकार मन्त्रिपरिषद्को पुस ११ को निर्णयअनुसार विभागले श्रम स्वीकृति दिने सूचना जारी गरेको हो ।
काठमाडौँ — वैदेशिक रोजगार विभागले इराकको आधिकारिक भिसा प्राप्त गरेका नेपालीलाई श्रम स्वीकृति दिने सूचना मंगलबार जारी गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पुस ११ को निर्णयअनुसार विभागले श्रम स्वीकृति दिने सूचना जारी गरेको हो । विभागले नेपाल फर्किएको अवस्थामा आवश्यक कागजात पेस गरेमा नेपालमै श्रम स्वीकृति प्रदान गरिने जनाएको हो । श्रम स्वीकृति लिन इच्छुक श्रमिकले वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत आवेदन दिनुपर्नेछ ।
आवेदनका लागि कम्तीमा तीन महिना म्याद बाँकी भएको राहदानी, इराकको आधिकारिक भिसा, रोजगारदातासँगको करार सम्झौता, अध्यागमनले राहदानीमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल गरेको प्रमाण अनिवार्य गरिएको छ ।
त्यसैगरी फेमिसमार्फत वैदेशिक जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयं सक्कल राहदानी, भिसा र करार सम्झौतासहित वैदेशिक रोजगार विभागमा सनाखतका लागि उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठले सरकारको यो निर्णयले इराकमा कार्यरत वा त्यहाँबाट फर्किएका हजारौं नेपाली श्रमिकलाई वैधानिक हैसियत दिलाउन सहयोग पुग्ने बताए । इराकमा करिब २५ हजार नेपाली कार्यरत छन् ।
