ओखरपौवा तीनपिप्लेमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

त्रिशूली थ्री बी हबबाट तीनपिप्ले जोड्ने २२० केभी प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदा तयार पारिएको छ ।

पुस २९, २०८२

रासस

High-capacity transmission line to be constructed in Okharpouwa and Tinpiple

What you should know

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । 

प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौँको तीनपिप्लेमा जोडिनेछ । तीनपिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेँसी, नुवाकोटको ककनी र काठमाडौँको तारकेश्वरको तिनपिप्लेसम्म निर्माण हुने हुनेछ ।

सो प्रसारण लाइन र सबस्टेसन आयोजना कार्यान्वयन गर्दा आयोजना प्रभावित  क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क–कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । 

प्राधिकरणले धुनीबेँसी नगरपालिका–१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ । 

रासस

Link copied successfully