सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बिमाको कभरेज उपलब्ध गराएको हो ।
What you should know
काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमा गराइएको छ । सेजनले प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमासहित कुल सात लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बिमाको कभरेज उपलब्ध गराएको हो ।
स्वास्थ्य तथा दुर्घटना बिमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बिमा पोलिसी हस्तान्तरण गरेकी हुन् ।
सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन् । उनले सबै नेपालीलाई बिमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बिमाको महत्त्वबारे अझै नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसकिएको उल्लेख गरिन् ।
'बिमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,' उनले भनिन्, 'आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बिमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।'
सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गराएको अध्यक्ष भट्टराईले बताए ।
स्वास्थ्य बिमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुने बित्तिकै बिमाको सुविधा पाउनेछन् । बिमाले माइनर सर्जरीका लागि १५ हजार रुपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रुपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रुपैयाँसम्मको कभरेज प्रदान गर्नेछ ।
यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बिमा कभरेजभित्र समेटिने व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
सामूहिक दुर्घटना बिमा अन्तर्गत सेजनका सदस्यले दुर्घटना एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रुपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन् । दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ ।
अध्यक्ष भट्टराईका अनुसार यो बिमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आवद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्नेछन् । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने, 'हामीले आफ्ना सबै सदस्यको व्यावसायिक क्षमता अभिवृद्धि लगायतका काम गर्दै आएका छौं, जुन सधैं कायम रहन्छ । सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै यस पटक हामीले संस्थाको कोषबाट सबै सदस्यको बिमा गरेका हौं ।'
