नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, 'प्रतिदिन प्रतिसवारी १२५ रुपैयाँ भाडा तिरेर चोभार सुख्खा बन्दरगाहमा राखेका छन् ।'
What you should know
काठमाडौँ — चोभार सुख्खा बन्दरगाहमा मात्रै ६५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् ।
बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १२५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबकाे अवधारणामा बनाएको संरचनामा ६५० युनिट ईभी व्यवस्थापन भएका छन्, ती थन्किएका भने होइन,’ उनले भने, ‘यहाँ राखेबापत कम्पनीहरुले प्रतिदिन प्रतिसवारी १२५ रुपैयाँ तिर्नुपर्छ ।’ समितिका अनुसार ४ युनिट बस, १२ युनिट पिकअप भ्यान र बाँकी प्राइभेट भेहिकल पार्किङमा छन् ।
गत जेठ १५ मा चालु आर्थिक वर्षको बजेटमार्फत ईभीको कर बढ्ने आशंकमा व्यवसायीहरु अत्यधिक सवारी भित्र्याएका थिए । त्यतिबेला बन्दरगाहमा मात्रै १३५० युनिट ईभी राखिएकोसमेत गजुरेल बताउँछन् । ‘अहिले जाँचपास भएर आउने सवारी एकदमै कम छ, बरु पार्किङमा राखिएका सवारी कम्पनीहरुले बिस्तारै लगिरहेका छन्,’ उनले भने, 'जेठमा १३५० ईभी रहेकोमा अहिले घटेर ६५० मा झरेको छ ।'
चार पांग्रे सवारीमा ईभी मात्रै पार्किङमा रहे पनि दुईपांग्रे सवारीमा भने ४ सय युनिट पेट्रोलियम सवारी रहेको गजुरलले बताए । ‘आईसी इन्जिनका ४०० युनिट दुईपांग्रे सवारी छन्, यसको हकमा क्षेत्रफल ओगटेअनुसार शुल्क निर्धारण हुन्छ र सोही अनुसार सम्बन्धित कम्पनीले तिर्नुपर्छ,’ उनले भने, 'चोभारमा भन्सार जाँचपाससँगै व्यापारसम्बन्धी लेबल राख्ने, भाडा तिरेर सवारी पार्किङ गर्नेलगायत सुविधा छ, त्यही सुविधाअनुसार व्यवसायीले भाडा तिरेर ईभी पार्किङ गरेका हुन् ।'
आर्थिक वर्ष ०८०/८१ मा ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार तिरे पुग्थ्यो । ०८१/८२ मा ५० किलोवाटसम्मको ईभीमा ५ प्रतिशत अन्त:शुल्क थपियो । ०८०/८१ मा ५१ देखि १०० किलोवाटको ईभीमा १० प्रतिशत भन्सार लाग्ने गरेकामा ०८१/८२ मा भन्सार र अन्त:शुल्क ५–५ प्रतिशत थपिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा १०१ देखि २०० किलोवाटसम्मका ईभीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्त:शुल्क लाग्छ । ०८०/८१ मा १० प्रतिशत भन्सार मात्रै लाग्थ्यो । अघिल्लो वर्ष भन्सार र अन्त:शुल्क २०–२० प्रतिशत थियो । आर्थिक वर्ष ०८१/८२ मा २०१ देखि ३०० किलोवाटको ईभीमा भन्सार २० प्रतिशत बढाइएको थियो भने अन्त:शुल्क १० प्रतिशत घटाइएको थियो ।
अघिल्लो वर्ष भन्सार ४० र अन्त:शुल्क ४५ प्रतिशत थियो । ३०१ किलोवाटभन्दा बढीका ईभीमा आर्थिक वर्ष ०८०/८१ मा भन्सार र अन्त:शुल्क ६०–६० प्रतिशत लाग्थ्यो । यी गाडीमा सरकारले आर्थिक वर्ष ०८०/८१ मा २० प्रतिशत भन्सार बढाएको थियो । अन्त:शुल्क भने १० प्रतिशत घटाइएको थियो ।
पाँच महिनामा ८ अर्ब ९५ करोड ५१ लाख ४० हजार रुपैयाँ बराबरको ३ हजार ७ सय ९८ युनिट सवारी आयात भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५० किलोवाटसम्मको २ अर्ब ७ करोड ३२ लाख रुपैयाँ बराबरको १ हजार २१५ युनिट ईभी आयात भएको थियो ।
यस्तै, ५१ देखि १०० किलोवाटसम्मको ५ अर्ब ६० करोड ८६ लाख रुपैयाँ बराबरकाे २ हजार १ सय ६४ युनिट सवारी आयात भएको छ । विभागका अनुसार १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १ अर्ब २३ करोड ८१ लाख रुपैयाँ बराबरका ४ सय १४ युनिट सवारी आयात भएको छ । यस्तै, २०१ किलोवाटदेखि ३०० किलोवाट सम्मका ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ बराबरको ५ युनिट सवारी आयात गरिएको विभागको तथ्यांक छ ।
