अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीको १६औं सभामा विश्वका १७१ राष्ट्रका १५०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
What you should know
काठमाडौँ — वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा सम्बन्धी महत्वाकांक्षी लक्ष्यहरू हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन अत्यन्त महत्वपूर्ण रहने बताएका छन् ।
युएईको राजधानी अबुधाबीमा अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा एजेन्सीको १६औं सभामा ढकालले सन् २०३५ सम्म नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लक्ष्यहरू हासिल गर्न आवश्यक कुल अनुमानित लागत ७३.७४ अर्ब अमेरिकी डलर रहेको बताए । उनले त्यसमध्ये करिब ८५ प्रतिशत अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगबाट प्राप्त हुने अनुमान गरिएको समेत जानकारी गराए ।
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीको १६औं सभामा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको नेतृत्वमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक ढकाल, नेपाली राजदूतावास अबुधाबीका कन्सुलर तथा उपनियोग प्रमुख र प्रथम सचिवसहितको चार सदस्यीय प्रतिनिधिमण्डल सहभागिता छन् ।
केन्द्रका कार्यकारी निर्देशक ढकालले नेपालको ऊर्जा विकास मार्गचित्रले सन् २०३५ सम्म देशको विद्युत् उत्पादन क्षमता २८,५०० मेगावाटसम्म विस्तार गर्ने, प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १,५०० किलोवाट–घण्टासम्म पुर्याउने तथा सो अवधिसम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य अंगीकार गरेको जानकारी गराए ।
विश्वका करिब १७१ राष्ट्रका १५०० भन्दा बढी प्रतिनिधिहरुले भाग लिएका छन् । उक्त सभामा क्षेत्रीय ऊर्जा रूपान्तरण, ऊर्जा प्रणाली सुदृढीकरणका लागि आवश्यक विद्युत् ग्रिड, दीर्घकालीन ऊर्जा योजना, डिजिटल नवप्रवर्तन तथा आर्टफिसियल (एआई)को उपयोग, दिगो उड्डयन इन्धनसहित वित्त परिचालन, कृषि तथा खाद्य प्रणालीमा नवीकरणीय ऊर्जाको योगदान तथा हरित औद्योगिकीकरण जस्ता समसामयिक तथा दीर्घकालीन महत्वका विषयहरू केन्द्रित छन्।
उक्त सभाले वैश्विक ऊर्जा रूपान्तरणलाई गति प्रदान गर्नुका साथै नवीकरणीय ऊर्जामार्फत समावेशी, दिगो र साझा समृद्धि हासिल गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ ।
