पाँच महिनामा साढे ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रियो 

चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोड रुपैयाँ एफडीआई प्रतिबद्धता आउँदा ७ अर्ब ४७ करोड रुपैयाँ मात्रै भित्रिएको छ ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Only 7.5 billion rupees of foreign investment was received in five months

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा साढे ७ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार उक्त रकम भित्रिएको हो । गत आर्थिक वर्षको पाँच महिनामा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको थियो ।

चालु आर्थिक वर्षको मंसिरमा मात्रै ४ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जुन लगानी प्रतिबद्धताको तुलनामा २६० प्रतिशतले बढी हो । उद्योग विभागका अनुसार मंसिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । 

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् ।

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेकोसमेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकैपटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् ।

चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोड रुपैयाँ एफडीआई प्रतिबद्धता आउँदा ७ अर्ब ४७ करोड रुपैयाँ मात्रै भित्रिएको छ । साउन-मंसिरमा प्रतिबद्धताको तुलनामा १९ प्रतिशत मात्रै लगानी भित्रिएको तथ्यांकले देखाउँछ । 

कान्तिपुर

Link copied successfully