नयाँ दिल्ली एरोसिटीमा सम्पन्न एमटीएम तथा एलएलटीएम २०२६ मा फोकस पार्टनरका रूपमा सहभागी हुँदै बोर्डले नेपालको कर्पोरेट, इन्सेन्टिभ, कन्फरेन्स तथा वेडिङ पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको हो ।
What you should know
काठमाडौँ — भारतलाई प्रमुख स्रोत बजारका रूपमा प्राथमिकतामा राख्दै नेपाल पर्यटन बोर्डले भारतका ट्राभल, कर्पोरेट तथा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) क्षेत्रका प्रमुख सरोकारवालासँग प्रत्यक्ष संवाद गरेको छ ।
पुलम्यान नयाँ दिल्ली एरोसिटीमा जनवरी ८–९ मा सम्पन्न एमटीएम तथा एलएलटीएम २०२६ मा फोकस पार्टनरका रूपमा सहभागी हुँदै बोर्डले नेपालको कर्पोरेट, इन्सेन्टिभ, कन्फरेन्स तथा वेडिङ पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको हो ।
जनवरी ९ मा सम्पन्न उक्त कार्यक्रम निर्णय–केन्द्रित र लक्षित नेटवर्किङ प्लेटफर्मका रूपमा प्रभावकारी बनेको आयोजकले जनाएको छ । कार्यक्रममा छानिएका कर्पोरेट बायर, प्रतिष्ठित ब्रान्ड तथा वरिष्ठ नेतृत्वको उल्लेखनीय सहभागिता रहेको थियो, जहाँ उद्देश्यपूर्ण संवाद र भविष्यकेन्द्रित छलफलमार्फत पर्यटन तथा माइस क्षेत्रका बदलिँदा प्राथमिकतामाथि गहन चर्चा गरिएको बोर्डले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षण ‘रिभर्स मार्केटप्लेस’ अवधारणा अन्तर्गत बायर र सेलरबीच भएको वन–अन–वन भेटघाट थियो । यसमार्फत नेपाल पर्यटन बोर्डले भारतीय कर्पोरेट तथा माइस निर्णयकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापारिक सहकार्य विस्तार र गन्तव्यप्रतिको विश्वास सुदृढ गरेको जनाएको छ ।
नेपाल पर्यटन बोर्डद्वारा प्रस्तुत गन्तव्य प्रस्तुतीकरणले भारतलाई लक्षित गर्दै नेपाललाई इन्सेन्टिभ ट्राभल, कन्फरेन्स, एक्सपेरिएन्सियल ट्राभल तथा उत्सव–केन्द्रित यात्राका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्यो । भारत नेपालका लागि प्रमुख पर्यटक स्रोत बजार रहेकाले यस्ता रणनीतिक सहभागिताले दीर्घकालीन पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
कार्यक्रमको दोस्रो दिन आयोजित ‘एमटीएम स्टार अवार्ड्स फर वेडिङ प्लानर्स’ ले भारतको वेडिङ तथा सेलिब्रेसन इकोनोमीमा उत्कृष्ट योजना र कार्यान्वयन गर्ने संस्थालाई सम्मान गरेको थियो । यस अवसरमा नेपालले वेडिङ तथा डेस्टिनेसन सेलिब्रेसन पर्यटनमा आफ्नो सशक्त उपस्थिति प्रस्तुत गर्दै भविष्यमा यस क्षेत्र विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार एमटीएम तथा एलएलटीएम २०२६ जस्ता लक्षित अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत भारतसँगको पर्यटन सहकार्य अझ मजबुत हुँदै जानेछ । साथै, नेपाललाई कर्पोरेट, माइस तथा वेडिङ पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डले जनाएको छ ।
