नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा वर्षौंदेखि अड्किएर बसेको इथानोेलको नीतिगत निर्णय मात्रै भएको भन्दै मन्त्री सिन्हाले प्रारम्भिक चरणमा रहेकाले थप अध्ययन अनुसन्धान गर्नुपर्ने बताए।
What you should know
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले एकाधिकार सधैं कायम नरहने भन्दै प्रतिस्पर्धी हुनुपर्ने बताएका छन्।
नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा वर्षौंदेखि अड्किएर बसेको इथानोेलको नीतिगत मात्रै निर्णय भएको भन्दै उनले प्रारम्भिक चरणमा रहेकाले थप अध्ययन अनुसन्धान गर्नुपर्ने बताए।
संस्थागत सुशासनलाई कसैले छोड्न नहुने भन्दै मन्त्री सिन्हाले त्यही कारण भदौ २३ र २४ मा जेनजी प्रदर्शन भएको समेत बताए। 'बोनसको विषयमा कानुन विपरित सेवासुविधा लिनुहुँदैन। कानुभन्दा कम पनि सेवासुविधा पनि लिनुहुँदैन,' उनले भने । नयाँ भवनबाट पारदर्शी, भ्रष्टाचारविरूद्व शून्य सहनशीलता कायम गर्नुपर्ने उनले बताए।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जुनसुकै परिस्थितिमा उपभोक्ताको इन्धनको आवश्यकतालाई परिपुर्ति गर्दै आएको बताए। गत वर्ष ३६७ अर्बको कारोबार भएकोमा १३ अर्ब नाफा कमाएको भन्दै निगमले सरकारलाई १२४ अर्ब राजस्व योगदान गरेको उनले सुनाए। 'निगमले वार्षिक रूपमा ६३ हजार किलोलिटर पेट्रोल, १ लाख २० हजार किलोलिटर डिजेल, २ हजार किलोलिटर मट्टितेल, १८ हजार किलोलिटर हवाई इन्धन र ४६ हजार टन एलपी ग्याँस आपूर्ति गरेको छ,' उनले भने ।
पाइपलाइन निर्माणले पेट्रोल र डिजेलको चुनौतीपूर्ण ढुवानीमा सहज भएको उनले सुनाए। पोखरा विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरी हस्तान्तरणको चरणमा रहेको उनले बताए। निगमले कम तेल दिएको भन्ने आक्षेप निराकरणका लागि प्रविधि प्रयोगमा ल्याइएको उनले जनाए।
कर्णाली प्रदेशमा डिपो निर्माणका लागि काम सुरू गरिएको जानकारी दिँदै उनले नयाँ सडक तथा अहिलेसम्म पम्प नभएका ठाउँमा ३७ वटा पेट्रोल पम्प निर्माण गर्ने तयारी भइरहेको सुनाए। सिनामंगलस्थित डिपो स्थान्तरण गर्नुपर्ने उनले बताए। हरित ऊर्जातर्फ जानका लागि इथानोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। संस्थाका कर्मचारीलाई मनोपोली बोनसबारे उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।'बोनस पाउनु पर्छ पनि भन्दिन। पाउनु हुँदैन पनि भन्दिन, यद्यपि उचित व्यवस्थापन गर्नुपर्छ,' उनले भने।
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरेले समयको माग र प्रविधिअनुसार संस्थाको विकास हुनुपर्ने बताए। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पेट्रोलियम पर्दाथ ल्याउन पाइपलाइनसँगै दोस्रो योजना पनि तयार गर्नुपर्ने बताए। 'विभिन्न ठाउँबाट तेल ल्याएर भण्डारण त गर्छौं । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरहरू विस्थापित हुन थालेको छ । पाइपलाइनमा समस्या आयो भने कसरी आपूर्ति हुन्छ,' उनले भने।
वार्षिकोत्सवको अवसरमा उद्योगमन्त्री सिन्हाले नवनिर्मित निगमको भवनको उद्घाटन गरे । पछिल्ला ८ महिनादेखि निगमको काम सोही भवनमार्फत भइरहेको छ। वार्षिकोत्सवमा निगमको प्रभात स्मारिकाको विमोचन समेत गरिएको छ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताले पेट्रोलियम पदार्थको अभाव भोग्नुपर्ने अवस्था नरहेको बताए। भारतीय बजारको तुलनामा प्रतिलिटर १४ रूपैयाँ सस्तो रहेको उनले बताए। विभिन्न स्थानमा पाइपलाइन बिस्तार भइरहेको उनको भनाई छ । स्वचालित मूल्य प्रणाली अपनाइसके पछि निगमको वित्तीय अवस्था राम्रो रहेको उनले सुनाए।
पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनका अध्यक्ष आत्मराम थापाले निगमको डिलरहरूको आवश्यकतालाई ध्यान दिन निगमलाई आग्रह गरे। प्रतिलिटर ९ रूपैयाँ हुँदा कायम रहेको कमिसन अहिले पनि उस्तै रहेको बताए। उनले कमिसन बढाउन आग्रह गरे। अन्य सामान बेच्ने व्यवसायीे आफू खुसी मूल्य र विचौलिया मार्फत बिक्री गरी मनग्ये आम्दानी गरिररहेको भन्दै आफूहरूले सरकारले तोकेकै मूल्यमा काम गरिररहेको बताए ।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले फरक क्षमताको सिलिन्डरअन्तर्गत १४.२ किलोको सिलिन्डर आवश्यकताभन्दा बढी भइरहेकाले ध्यानाकर्षण भएको बताए। नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद रेग्मीले सराेकारवालासहितको प्रयासमा विभिन्न उत्तारचढावका बीच निगम ५६ वर्षमा लागेको बताए। निगमले भौतिक रूपमा काम गरिसकेको भन्दै रेग्मीले अब रूपान्तरणका काम गर्नुपर्ने बताए ।
नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोजकुमार दासले ढुवानी भाडाको भुक्तानी अझै पीआरपीबाट नभइरहेको बताए। 'उत्कृष्ट प्रविधि अपनाइरहेका छौं तर हाम्रो भुक्तानी भइरहेको छैन,' उनले भने । पाइपलाइनका कारण ढुवानीको काम घटिरहेको भन्दै दासले अब निगमले व्यापार विविधिकरणमा जानुपर्ने बताए ।
नेपाल पेट्रोलियम डिलरर्स राष्ट्रिय एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यवसाय विविधिकरण गरी अन्य क्षेत्रमा जानुपर्ने बताए। पेट्रोलियम पदार्थको प्रयोग घटिरहेको उनको बुझाइ छ। ईथानोल ब्लेन्डिङको विषयमा आर्थिक, व्यवसायिक उपभोक्ताको विषयमा अध्ययन गरी सुरू गर्नुपर्ने उनले बताए ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले विद्युतीय सवारीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको व्यापारमा संकुचन हुन थालेको बताए। सरकारको बोनस ऐन बमोजिम कर्मचारीले बोनस नपाएको समेत उनले जानकारी गराए। २०५८ सालदेखि बोनस नपाएको उनको भनाइ छ। वाषिर्कोत्सवका अवसरमा विभिन्न कर्मचारीलाई सम्मान गरिएको थियो ।
