बत्ती जान थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा समस्या समाधान गर्न निर्देशन

निर्देशक शाक्यले प्राधिकरणको ध्यान बिजुली दिने मात्रै होइन गुणस्तरीय बिजुली दिनेमा रहेको भन्दै बेलाखबत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन उपभोक्तालाई आग्रह गरेका छन् ।

पुस २६, २०८२

रासस

NEA Executive Director Shakya directs to resolve the problem after power outages

What you should know

काठमाडौँ — स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जाने/आउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका लागि सरोकार भएकालाई निर्देशन दिएका छन् ।

उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षण गर्नुका साथै आज सरोकार भएका पक्षसँग छलफल गरेका हुन् ।

समस्या समाधानका लागि शाक्यले बिहीबारदेखि निरन्तर प्रयास जारी राखेका छन् । शुक्रबार पनि करिब १० बजेतिर आकस्मिक रूपमा निरीक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा पूर्व लगनखेल वितरण केन्द्र र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे उनले जानकारी लिएका थिए । 

बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रिडका तथा माथिल्लो तहका कर्मचारीसँगै राखेर उनले छलफल गरेका थिए । छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिए ।

निर्देशक शाक्यले प्राधिकरणको ध्यान बिजुली दिने मात्रै होइन गुणस्तरीय बिजुली दिनेमा रहेको भन्दै बेलाखबत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन उपभोक्तालाई आग्रह गर्दै प्राविधिक समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्राधिकरणले पनि जाडो बढेसँगै हिटर, एसीलगायत विद्युतीय उपकरण चलाउने क्रम बढेसँगै विद्युत्को माग पनि बढ्न जाने हुँदा कहिलेकाहीँ सामान्य प्राविधिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गरेर अघि बढ्ने जानकारी दिएको छ । प्राधिकरणले ‘लोडसेडिङ’ हुन लाग्यो कि भन्ने आशङ्का नलिन पनि सबैलाई आग्रह गरेको छ । 

रासस

Link copied successfully