कम्पनीले आफ्ना उत्पादन डडेल्धुरा, धनगढी, दिपायल र बैतडीसम्म पठाउने तयारी गरेको छ ।
What you should know
डडेल्धुरा — जिल्लाको अमरगढी–१, मौरडामा रहेको फार वेस्टर्न एग्रोजाइन्ट लिमिटेडले भटमास प्रशोधन गरेर ‘रमसिला’ ब्रान्डको तेल र मस्यौरा उत्पादन थालेको छ ।
६ वर्षअघि स्थापना भएको उद्योगले गत चैतबाट तेल र मस्यौरा उत्पादन गरेको हो । उद्योगका सञ्चालक समिति अध्यक्ष धर्मसिंह ऐरले भटमासबाट तेल र त्यसको पिनाबाट सोया मस्यौरा उत्पादन गरिरहेको बताए ।
‘भटमास उत्पादन गरेर किसानले सिधै उद्योगलाई बिक्री गर्न पाएका छन्,’ उनले भने, ‘किसानलाई भटमास उत्पादन र बजारसँग जोड्ने उद्देश्य छ ।’ प्रदेशका सबै जिल्लाबाट भटमास खरिद गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
सरकारी निकायसँग समन्वय गरी बीउ वितरण, प्राविधिक सहयोग तथा कृषक समूहसँग सम्झौता गरेर भटमास खरिद गर्ने तयारी भइरहेको ऐरले बताए । खेती विस्तारका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘भटमास जोन’ कार्यक्रमसँग समन्वय भएको छ । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, कृषक समूह र सेयर सदस्यसँग सहकार्य गरेर उत्पादन बढाउन दीर्घकालीन योजना बनाइएको अध्यक्ष ऐरले बताए ।
उद्योगको प्रतिदिन एक सय क्विन्टल भटमास पेल्ने क्षमता रहेको छ । यसबाट करिब १० क्विन्टल तेल र १० क्विन्टल सोया मस्यौरा उत्पादन सम्भव हुने उनले बताए । अहिले कच्चा पदार्थ अभावमा पूर्ण क्षमताअनुसार उद्योग सञ्चालन भइरहेको छैन । अहिले दैनिक करिब ४ क्विन्टल सोया मस्यौरा उत्पादन भइरहेको छ । त्यही औसतमा भटमास तेल उत्पादन हुँदै आएको छ । कम्पनीले आफ्ना उत्पादन डडेल्धुरा, धनगढी, दिपायल र बैतडीसम्म पठाउने तयारी गरेको छ ।
उद्योगका ७ सयभन्दा बढी सेयर सदस्य छन् । उद्योगमा ६ जना प्राविधिक छन् । उद्योगमा अहिलेसम्म ८ करोड लगानी भइसकेको छ । भटमास पेल्ने, तेल रिफाइनिङ, सोया मस्यौरा बनाउने गरी उद्योगमा तीनवटा प्लान्ट जडान गरिएको छ ।
