कुनै समय भलिबलकी चल्तीकी स्पाइकर गोमती पन्त पनि अहिले कापी उद्योगमै काम गरिरहेकी छिन् । बीएडसम्म अध्ययन गरेकी उनी ६ महिनादेखि कापी उद्योगमा काम गरिरहेको बताउँछिन् ।
What you should know
कञ्चनपुर — घरायसी काममै व्यस्त रहने कृष्णपुर नगरपालिका–४ किचाइकी चन्द्र भट्टको दैनिकी फेरिएको छ । उनी अहिले साँझ–बिहान घरमा र दिनमा घरछेउकै कापी उद्योगममा काम गर्छिन् । उद्योगमा उनी कापीका पाना मिलाउने, कभर फोल्ड गर्ने, साइज मिलाउनेदेखि सबै काम गर्छिन् ।
एक वर्षदेखि भट्ट यसैगरी काम गरिरहेकी छिन् । बिहानै घरको काम सकेर ८ बजे उद्योगमा पुग्छिन् । दिउँसो खाना खान घरमै जान्छिन् र फेरि उद्योगमा फर्केर काम गरेपछि साँझ मात्रै घर फर्किन्छन् ।
‘घर छेउमै उद्योग खुलेको छ, यसमा काम पनि सिकिरहेका छौं, आम्दानी पनि भइरहेको छ,’ भट्टले भनिन्, ‘अहिले सिक्ने चरणमै भएकाले पारिश्रमिक पनि कमकमै छ ।’ उनले मासिक ८ हजार बुझ्छिन् । त्यसैबाट घरखर्च चलाउँछिन् । उनका श्रीमान् देवराज वैदेशिक रोजगारीमा छन् । छोराछोरी स्कुल पढ्छन् ।
कुनै समय भलिबलकी चल्तीकी स्पाइकर गोमती पन्त पनि अहिले कापी उद्योगमै काम गरिरहेकी छिन् । बीएडसम्म अध्ययन गरेकी उनी ६ महिनादेखि कापी उद्योगमा काम गरिरहेको बताउँछिन् । ‘खाली बस्नुभन्दा घर छेउमै काम पाइएको छ, यसमै लागेका छौं,’ पन्तले भनिन्, ‘केही नभए पनि आफ्नो र घरको खर्च त चलेको छ ।’
उनले भलिबलको रेफ्रीको लाइसेन्स पनि बनाएकी छिन् । नगरपालिकामा हुने भलिबल प्रतियोगितामा उनलाई आमन्त्रण गरिन्छ । राष्ट्रपति रनिङ शिल्डमा पनि उनले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कहिलेकाहीँ ठूला प्रतियोगितामा पनि बोलाउने गरेको उनले बताइन् । रेफ्रीको काममा गएपछि कापी उद्योगमा बिदा लिने गरेको उनले बताइन् ।
कृष्णपुर नगरपालिकाकै वडा नं. ५ की मानमती भट्ट पनि एक वर्षदेखि कापी उद्योगमा काम गरिरहेकी छिन् । उद्योगमा कापीका पाना मिलाउनेदेखि कागजको साइज मिलाउने, लेबुलेसन, पञ्चिङ, कटिङ र प्याकिङ लगायतका मेसिनहरू चलाउन सिकेर काम गर्छिन् ।
‘घरमा घाँसपात मात्रै गर्थ्यौं, त्यसमै ठिक्क हुन्थ्यो,’ मानमतीले भनिन्, ‘अहिले घरको कामसँगै उद्योगमा पनि काम गरिरहेका छौं ।’ बिहान छोराछोरीका लागि खाना बनाएर उद्योगमा आउँछिन् । त्यसपछि दिउँसो खाना खान घर फर्किन्छिन् । दिउँसो १ घण्टा रेस्ट गर्ने समय पाइन्छ । त्यसपछि साँझ मात्रै घर फर्किन्छिन् ।
कृष्णपुर नगरपालिका–५ मा करिब ५ वर्षअघि यहीँका स्थानीय नारायणदत्त जोशीले मालिकार्जुन कापी उद्योग सञ्चालनमा ल्याएका हुन् । यही उद्योगले यहाँका महिलालाई सीप सिकाउनुका साथै रोजगारी समेत दिएको छ । अहिले महिलाहरू घर छेउमै रोजगारी पाएर खुसी देखिन्छन् । उक्त उद्योगमा १५ जनाभन्दा बढी महिला काम गरिरहेको जोशी बताउँछन् ।
