खाद्यले किन्यो वीरगन्जमा ६ हजार क्विन्टल धान

हालसम्म पर्सा,बारा र रौतहट जिल्लाबाट समेत किसानले धान बिक्रीका लागि ल्याएका छन् । सर्लाहीका किसानले पनि टोकन लगेका छन् ।

पुस २४, २०८२

शंकर आचार्य

Food Ministry buys 6,000 quintals of paddy in Birgunj

What you should know

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले बिहीबारसम्ममा ६ हजार ३५ क्विन्टल ३० किलो धान खरिद गरेको छ । शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहले पुस ६ देखि धान खरिद सुरु गरिएकामा सोमबारसम्ममा यति परिमाणमा धान खरिद गरिएको बताए ।

शाखाले यस वर्षदेखि नै टोकन प्रणालीबाट किसानको धान खरिद गर्न थालेकामा बिहीबारसम्ममा १ सय ५९ टोकनबाट यति परिमाणमा धान खरिद गरिएको उनले बताए ।

किसानलाई ४० क्विन्टल धान खरिदका दरले टोकन वितरण गरिएकामा औसतमा ३७ क्विन्टलको दरले धान खरिद भइरहेको उनले बताए । कतिपय किसानले ४० र कतिपयले त्यसभन्दा कम धान ल्याएका छन् ।

टोकन प्रणाली लागू गरिएपछि अघिल्ला वर्षको जस्तो धान खरिद बिक्री गर्दा भीडभाड नभई व्यवस्थित ढंगबाट धान खरिदबिक्री भइरहेको उनले बताए । धान खरिदका लागि किसानलाई २ सय ७५ वटा टोकन कार्यालयबाट वितरण गरिसकिएको कुशवाह बताउँछन् ।

यस वर्ष माघ ६ गतेसम्म धान खरिद गर्ने योजना रहेकामा यसै अनुपातमा धान खरिद भइरहे लक्षित अवधिमै धान खरिद भइसक्ने उनले बताए । हालसम्म पर्सा,बारा र रौतहट जिल्लाबाट समेत किसानले धान बिक्रीका लागि ल्याएका छन् । सर्लाहीका किसानले पनि टोकन लगेका छन् ।

यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ ।

गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न किसान आएनन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully