बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको स्थिर रहयो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन बढेको नेप्से बुधबार १३.३५ अंकले घटेको हो ।
अघिल्लो दिनको तुलनामा यो ०.५० प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा ओर्लेको छ ।
बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
सो दिन कुल ७२ हजार ४७४ पटकको सेयर कारोबारमा १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार सेयर बजारमा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनीको परिसूचक बढ्यो । व्यापारको स्थिर रह्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।
