राजापुर सुगर एन्ड केमिकल्स इन्डिस्ट्रिज प्रालिले वार्षिक ३ लाख ३० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बर्दिया — ठूलो लगानीमा बर्दियामा निर्माण भएको राजापुर चिनी मिलले मंगलबारबाट उत्पादन सुरु गरेको छ । मंसिर अन्तिम साताबाट चिनी उत्पादन सुरु गर्ने भनिए पनि प्राविधिक कारणले पुस २२ गतेबाट उत्पादन सुरु गरेको हो ।
दैनिक २ सय ५० क्विन्टल चिनी उत्पादन हुने सुगर एण्ड केमिकल्स इन्डिस्ट्रिज प्रालिका महाप्रबन्धक श्रीकृष्ण महतोले बताए ।
राजापुर सुगर एन्ड केमिकल्स इन्डिस्ट्रिज प्रालिले वार्षिक ३ लाख ३० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित चिनी लुम्बिनी, कर्णाली लगायतका प्रदेशसम्म पुग्नेछ ।
बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरमा करिब २ अर्ब ५० करोडको लगानीमा चिनी मिल संचालनमा आएको हो । सुगर एण्ड केमिकल्स इन्डिस्ट्रिज प्रालिका महाप्रबन्धक महतोले चिनी मिलमा हाल ५ सय ५० जनाले रोजगारी पाएको बताए ।
२१ बिघा बढी क्षेत्रफलमा चिनी मिल सञ्चालनमा आएको हो । धान उत्पादन हुने यस भेगमा झण्डै २ हजार ५ सय बिघा क्षेत्रफलमा किसानले उखु खेती गर्न थालेको चिनी मिलले जनाएको छ । यस बाहेक कैलाली जिल्लाबाट यहाँ उखु खरिद गरिने भएको छ । महाप्रबन्धक महतोले चिनी मिलका लागि उखु लगाउन किसानलाई अनुदान दिँदै आएको बताए ।
