दोस्रो आर्थिक गणना हुँदै

२०७५ को पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान र व्यवसायहरू गणना गरिएको थियो।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

The second economic census is underway.

What you should know

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी थालेको छ। कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गर्न लागेको छ।

सोमबार कार्यालयले आर्थिक गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो।

वैशाख २०७५ मा पहिलो पटक आर्थिक गणना भएको थियो। दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरिँदैछ। आर्थिक गणनामा प्रतिष्ठानहरूमा गएर नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था समेत हेरिनेछ। कार्यालयका अनुसार आर्थिक गणनाका लागि ५ हजार गणकहरू नियुक्त हुँदैछन्। राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्ने योजना छ। कार्यालयले विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गर्नेछ।

तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमलप्रसाद पोख्रेलले आर्थिक कारोबार गर्ने क्षेत्रहरूको अवस्था जान्नका लागि यो गणना महत्वपूर्ण हुने बताए। उनले भने, ‘खासगरी आर्थिक क्रियाकलाप गर्ने इकाइहरूको अवस्थाको पहिचान हुनेछ र सरकारलाई भावी कार्यदिशा निर्माणका लागि पनि मद्दत पुग्नेछ। मूल्यवृद्धि, रोजगारीको स्थिति, अवसरदेखि जनशक्तिको आवश्यकतादेखि भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ।’

तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी लामीछानेले अर्थतन्त्रमा हरेक क्षेत्रको योगदान कति छ, त्यसका वृद्धिदरहरू कति छन् भन्ने कुरा आर्थिक गणनाबाट देखिने बताउँदै राज्यका नीति कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ भन्ने कुरालाई यसले आधार बनाउने बताइन्।

२०७५ को पहिलो राष्ट्रिय आर्थिक गणनामा देशैभर ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान र व्यवसायहरू गणना गरिएको थियो। जसमा ३२ लाख २८ हजार ४ सय ५७ मानिस संलग्न रहेको विवरण सार्वजनिक भएको थियो। ती प्रतिष्ठान र व्यवसायमा करिब ३० प्रतिशत महिला व्यवस्थापक रहेको विवरण पनि यही गणनाबाट सार्वजनिक भएको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully