नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष रितेश मित्तलले करिब तीन दशकअघि औपचारिक रेमिट्यान्स व्यवसायको बिजारोपण गरेकाले घिमिरेलाई सम्मान गरिएको बताए ।
What you should know
काठमाडौँ — नेपाल रेमिटर्स एसोसिएसनले रेमिट्यान्स क्षेत्रका अग्रणी व्यक्ति नवराज घिमिरेले सम्मानित गरेको छ । एसोसिएसनको २०औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभाको अवसरमा नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै अग्रणी व्यक्तित्व घिमिरेलाई सम्मान गरेको हो ।
सम्मानित व्यक्ति घिमिरे ९२ वर्षका छन् ।
सन् १९९६ सम्म रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको समयमा, घिमिरेले ती कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गरेको नेपाल रेमिटर्स एसोसिएसनका निवर्तमान अध्यक्ष चन्द्र टन्डनले बताए । उनकाअनुसार घिमिरेले आफ्नो कम्पनी अन्नपूर्ण ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा प्रारम्भ गरेका थिए । जसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी तथा विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन सहयोग पुर्यायो । यही संस्थाले पछि रूपान्तरण भई एटीटी रेमिट प्रालिको रूपमा विकसित भई हाल नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत सञ्चालनमा रहेको छ ।
वार्षिक साधारणसभामा बोल्दै नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष रितेश मित्तलले करिब तीन दशकअघि औपचारिक रेमिट्यान्स व्यवसायको बिजारोपण गरेकाले घिमिरेलाई सम्मान गरिएको बताए । ‘घिमिरेको दूरदर्शी सोच, साहसिक नेतृत्व तथा निरन्तर समर्पणकै कारण आज नेपाली रेमिट्यान्स उद्योग संस्थागत रूपमा विकसित भई देशको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रका रूपमा स्थापित भएको छ,’ उनले भने ।
नेपाल रेमिटर्स एसोसिएसनले घिमिरेको दूरदर्शिता, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित तथा व्यवस्थित बनाउने आधार तयार गरेको उल्लेख छ । घिमिरेको योगदानले वित्तीय समावेशीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।
