न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ ।
काठमाडौँ — राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत उक्त रकम झिक्न लागेको हो ।
१० वर्षपछि राष्ट्र बैंकले गत साता सोमबार पहिलो पटक ऋणपत्र जारी गरेको थियो । त्यसपछि गत बुधबार पनि ऋणपत्रमार्फत एक वर्षका लागि २५ अर्ब रुपैयाँ झिकेको थियो । आज फेरि त्यस्तै ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । यस वर्ष जारी भएको यो तेस्रो राष्ट्र बैंक ऋणपत्र हो । यसको परिपक्व अवधि एक वर्ष रहेको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २० (आज) २०८२ मध्याहृन २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि २० पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।
लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।
ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।
