घटनास्थलबाट प्राप्त विवरण अनुसार, विमानभित्र रहेका सबै ७२ सिट निकालेर चौरमा सुरक्षित राखिएको छ । करिब १ हजार २ सय किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको छ ।
What you should know
काठमाडौँ — भद्रपुर विमानस्थलमा शुक्रबार राति अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ (माइक फोक्सट्रट) विमानलाई घटनास्थलबाट हटाउने काम आइतबार पनि जारी छ।
भद्रपुरमा उपलब्ध भएका दुईटा साना क्रेनले जहाज झिक्न शनिबार अबेरसम्म नसकेपछि आइतबार विराटनगरबाट ५० टन भार उठाउने झमता भएको अर्को ठूलो क्रेन झिकाइएको छ ।
शनिबार बुद्ध एयरले काठमाडौंबाट १८ जना प्राविधिकसहित अर्को एटीआर विमानमार्फत उद्धार टोली भद्रपुर पठाएको थियो । त्यस्तै प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसहितको टोली शनिबार बुद्धको रिलिफ उडानबाट घटनास्थल पुगेको थियो र शनिबारै त्यो टोलीका अधिकांश सदस्य काठमाडौं फर्किसकेका छन् ।
घटनास्थलबाट प्राप्त विवरण अनुसार, विमानभित्र रहेका सबै ७२ सिट निकालेर चौरमा सुरक्षित राखिएको छ । करिब १ हजार २ सय किलो इन्धन पनि निकालेर सुरक्षित रूपमा डम्प गरिएको छ ।
‘धसिएको विमानलाई सुरक्षित स्थानमा सार्न १० र १५ टन क्षमताका क्रेन प्रयोग भए पनि हिजो सफल भएन । आइतबार बिहान १० बजे विराटनगरबाट ५० टन क्षमताको ठूलो क्रेन ल्याएर विमान उठाउने तयारी भइरहेको छ,’ घटनास्थलमा खटिएका उद्धारकर्मीले भने, ‘आज जहाजलाई उचालेर खोल्सो पारि सुरक्षित स्थानमा सार्ने योजना बनाएका छौं ।’
विमान तत्काल हटाउनुपर्ने कारणबारे उनले बताए, ‘विमानको पुच्छर धावनमार्ग नजिकै रहेकाले हाल जोखिम मोलेर उडान सञ्चालन गर्नुपरेको छ ।’ भद्रपुर विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार, पूर्वी धावनमार्गको कुल लम्बाई १,५०० मिटर भए पनि हाल २८ नम्बर बिन्दुबाट १ सय मिटर घटाएर उडान सञ्चालन भइरहेको छ ।
‘अन्य जहाजलाई टेकअफ गर्दा अन्तिम बिन्दुसम्म जहाज पुग्छ, तर अवतरणमा १ सय मिटर छाडेर मात्रै अवतरण गर्न अनुमति दिइएको छ,’ उनले भने । दुर्घटनाग्रस्त विमान धावनमार्गको अन्तिम बिन्दुभन्दा करिब डेढ सय मिटर अगाडि धसिएको छ।
शुक्रबार यो घटना हुँदा यति एयरलाइन्सको एटीआर विमान १८ जना यात्रु लिएर काठमाडौं फर्किन तयारी अवस्थामा थियो । तर धावनमार्ग अवरुद्ध भएपछि त्यो विमान भद्रपुरमै रोकियो, जुन आइतबार बिहान मात्र काठमाडौं फर्किएको हो । उक्त घटनालगत्तै विमानस्थल सञ्चालन रोक्नु परेको थियो ।
शुक्रबार राति ९ बजेर ६ मिनेटमा काठमाडौं–भद्रपुर उडान पूरा गरी अवतरण गरेको उक्त विमान पूर्वी धावनमार्गको छेउबाट बाहिरिँदै चौर पार गरेर खोल्सोमा धसिएको थियो । प्राविधिक भाषामा यस घटनालाई रनवे एक्सकर्सन भनिन्छ । जसमा विमान धावनमार्गको सतहबाट बाहिर जान्छ ।
बुद्धको उक्त उडानका क्याप्टेन शैलेष लिम्बू र को–पाइलट सुसान्त श्रेष्ठ शनिबारै काठमाडौं फर्किएका छन् । नियमानुसार दुवै चालकदललाई ग्राउन्डेड गरिएको छ । बुद्ध एयरका अधिकारीका अनुसार, उनीहरुको स्वास्थ्य परीक्षण मेडिसिटी अस्पतालमा गरिसकिएको छ । अब गठन हुने छानबिन समितिले उनीहरुसँग बयान लिने छ ।
प्राधिकरणका प्रतिनिधिहरूले प्रारम्भिक अवलोकनमा अवतरणको क्रममा विमान तोकिएको उचाईभन्दा केही माथिबाट धावनमार्गमै टचडाउन भएको पाइएको दाबी गरेका छन् । तर मौसम, गति, चालकदलको अवस्था, फ्लाइट डेटा रेकर्डर, ककपिट भ्वाइस रेकर्डर र एयर ट्राफिक कन्ट्रोलसँगको संवाद जस्ता सबै पक्षको अध्ययनपछि मात्रै वास्तविक कारण पत्ता लाग्ने अधिकारीहरुले भनेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका निमित्त प्रमुख विक्रमराज गौतमका अनुसार, घटनाको छानबिन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दुवै तहबाट गरिनेछ ।
‘अहिलेसम्म यो घटना हो कि दुर्घटना हो भन्ने औपचारिक घोषणा गरिएको छैन । पहिलो प्राथमिकता उद्धार र दोस्रो विमानस्थल सञ्चालन थियो । अब अनुसन्धान सुरु हुनेछ, जसले कारण, कमजोरी र सुधारका सुझाव दिनेछ,’ उनले बताए ।
बुद्ध एयरका एक वरिष्ठ अधिकारीका अनुसार, विमान बीमा गर्ने कम्पनीका प्रतिनिधि आइतबार बेलायत र भारतबाट नेपाल आइपुग्नेछन् । उनीहरूले भद्रपुर पुगेर विमानको अवस्था मूल्यांकन गर्नेछन् । सोमबार फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनीका प्रतिनिधि पनि घटनास्थलमा प्राविधिक निरीक्षण गर्ने कार्यक्रम रहेको छ । विमान पुनः सञ्चालनमा ल्याउन मिल्ने वा नमिल्ने निर्णय यस मूल्याङ्कनपछि हुनेछ ।
सन् २०१८ मा सुरु भएको नेपालको पहिलो पाँचवर्षीय उड्डयन सुरक्षा योजना हाल कार्यान्वयनमा छ । जसले उडान सञ्चालनसँग सम्बन्धित सात प्रमुख जोखिम क्षेत्रलाई प्राथमिकतामा राखेको छ। जस्मा रनवे एक्सकर्सन पनि एउटा चुनौती मा पर्छ ।
उड्डयन सुरक्षासम्बन्धी घटनाहरूको विश्लेषणले नेपालले पहिचान गरेका प्रमुख जोखिम क्षेत्रमा नियन्त्रित उडान भू–आकृतिसँग ठोक्किनु,उडानको नियन्त्रण गुम्नु, प्रणाली/कम्पोनेन्ट खराबी– इन्जिन बाहेक, प्रणाली/कम्पोनेन्ट खराबी–पावरप्लान्ट, मध्य–आकाशमा एकआपसमा ठोक्किनु, आगलागी/धुवाँबिना जमिनमा ठोक्किनु र धावनमार्गबाट बाहिरिनु आदी नेपाली उड्डयन क्षेत्रका प्रमुख चुनौती हुन ।
भद्रपुरमा बुद्धले सामना गरेको यही रनवे एक्सकर्सन (धावनमार्गबाट बाहिरिनु) हो । भद्रपुर घटना यही अन्तर्गत पर्छ । एक वर्षअघि भैरहवामा पनि बुद्दको अर्को एटीआरले रनवे एक्सकर्सनको घटना सामना गर्दा करोडौको क्षति ब्यहोरेको थियो ।
