कर्णालीको निरीक्षण भ्रमणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
What you should know
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकीकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका छन् । कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दै यस्तो बताएका हुन् ।
कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो । ‘कर्णाली कति पछाडि परेको छ भन्ने कुराको बोलीले भन्दा पनि प्रमाणले भन्ने हो भने हेर्नुहोस् त १३२ केभी प्रसार लाइन अहिलेसम्म आएको छैन,’ उनले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ? पूरै कर्णालीमा १३२ केभी प्रसारण लाइन अब बढीमा १५ दिन भित्रमा सञ्चालनमा आउँछ ।’
उनले ढिलामा १५ दिनभित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशनसमेत दिए । ‘त्यसपछि यहाँका उद्योगधन्दा अर्को वर्षमा सबै भन्दा बढी उद्योगधन्दामा खर्च गर्ने अवस्था आउनेमा आशावादी छु,’ उनले भने, ‘अर्को वर्ष फेरि सम्मान गर्न यहाँ आउँदा कर्णालीमा ठूला उद्योग सुरु भएर ती उद्योगी ग्राहकलाई सम्मान गर्न पाउने वातावरण बन्ने छ भन्नेमा पनि म ढुक्क छु ।’
उनले आफू २०६६ सालदेखि निरन्तर कर्णालीमा आइरहेको भन्दै सुर्खेत विमानस्थलमा ओर्लिँदै गर्दा ती पुराना दिनका याद आएको पनि उल्लेख गरे ।
शाक्यले सुर्खेतको निर्माणाधीन स्वचालित सबस्टेसन नजिकै प्रमुख राजमार्ग छेउको टावर नजिकै रहेको र प्राधिकरणले अधिकरण गरेको जग्गामा उक्त राजमार्गमा प्रयोग गर्ने विद्युतीय सवारीलाई सहज हुने गरी चार्जिङ स्टेसन प्रयोगका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए ।
आयोजनाका प्रमुख रविकुमार चौधरीले पनि कोलपुर-सुर्खेत खण्डको काम अन्तिम चरणमा रहेको भन्दै शाक्यको निर्देशन अनुसार अबको १५ दिनभित्र यो लाइन चार्ज गर्न सफल हुने प्रतिबद्धता गरे । ‘अर्को दोस्रो खण्डको सुर्खेत–दैलेख खण्डको काम पनि तीव्र गतिमा अघि बढेको छ,’ चौधरीले भने, ‘अर्को वर्षभित्र दैलेखसम्म पुर्याउने छौँ । प्राधिकरणका कार्यकारी निर्देशकज्यू आएर हामीलाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हामी त्यही अनुसार कामलाई गति दिन्छौँ ।’
चौधरीले करिब ७५ करोडमा निर्माण भएको सब-स्टेसन तयारी अवस्था छ र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइनकाचाहिँ दुई स्पान तार तानेर परीक्षण गर्न बाँकी रहेका छन् ।
शाक्यले कर्णाली प्रदेशका १० वटै विद्युत् केन्द्रका प्रमुखहरुसँग उनीहरूको प्रगति विवरण, त्यहाँको समस्या र समाधानका उपायहरुसँग केन्द्रित भएर छलफल पनि गरे । उनले आफ्ना गुनासा र समस्याहरू सुनाउँदा लिखित र योजनासहित समस्याको पहिचान गरी समाधानको उपाय खोज्ने गरी ल्याउन पनि सुझाव दिए ।
त्यही क्रममा गुनाङडोङ युनटाइन रमा जेभी क्रसर, सुर्खेत, खलङ्गा सितलपार्टी खानेपानी उपभोक्ता, सल्यान, शुभघाट सहरी खानेपानी, सुर्खेत, विजयीश्री चौरजहारी सुखा खानेपानी तथा सरसफाइ रुकुमपश्चिम, खलङ्गा शीतलपार्टी खानेपानी र उपभोक्ता सल्यान, वीरेन्द्रनरगर औधोगिक क्षेत्र सुर्खेत, शंखमूल ग्रामीण विद्युत् लुहाम बजार, सल्यान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत र शुभघाट सरकारी खानेपानी सुर्खेत सम्मानित भएका छन् ।
