संशोधित दरअनुसार काठमाडौं–पोखरा, काठमाडौं–विराटनगर, काठमाडौं–भैरहवा र काठमाडौं–नेपालगञ्ज जस्ता प्रमुख ट्रंक रुटहरूमा फ्युल सरचार्ज घटाइएको छ।
काठमाडौँ — हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुहरूले केही राहत पाउने भएका छन्। आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँबाट घटाएर १२८ रुपैयाँ कायम गरिएपछि ट्रंक, रिमोट तथा दुर्गम सेक्टरका उडानमा लाग्ने फ्युल सरचार्ज घटाइएको हो।
संशोधित दरअनुसार काठमाडौं–पोखरा, काठमाडौं–विराटनगर, काठमाडौं–भैरहवा र काठमाडौं–नेपालगञ्ज जस्ता प्रमुख ट्रंक रुटहरूमा फ्युल सरचार्ज घटाइएको छ। काठमाडौं–पोखरा रुटमा लाग्ने फ्युल सरचार्ज २,१२५ रुपैयाँबाट घटेर २,०३० रुपैयाँ पुगेको छ भने काठमाडौं–विराटनगर रुटमा ३,२१५ रुपैयाँबाट घटेर ३,०७५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी रिमोट तथा दुर्गम सेक्टरका यात्रुहरूले पनि लाभ पाउने भएका छन्। काठमाडौं–लुक्ला, विराटनगर–फाप्लु, नेपालगञ्ज–सिमिकोट र धनगढी–बाजुरा जस्ता उडानमा उडान समय र प्रयोग हुने विमानअनुसार प्रति यात्रु ४० रुपैयाँदेखि ३०० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ ।
संशोधित फ्युल सरचार्ज जेटस्ट्रिम र एटीआर जस्ता विमानहरूको उडान लागतका आधारमा घट/बढ हुन्छ। फ्युल खपत र इन्धन लागतका आधारमा प्रति सिट प्रतिमिनेटका दरमा फ्युल सरचार्ज गणना गरिन्छ । त्यसैका आधारमा तय गरिएको शुत्रका आधारमा वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्युल सरचार्ज हेरफेर गर्दछन् ।
नयाँ फ्युल सरचार्ज दरहरू जनवरी २, २०२६ देखि लागू हुनेछन्। यसअघि लागू दरहरू डिसेम्बर ३१, २०२५ सम्म कायम थिए।हवाई सेवा प्रदायक र नियामक निकायका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यमा आएको परिवर्तनअनुसार दर समायोजन गरिएको हो। यसले यात्रुहरूलाई राहत दिनुका साथै हवाई सेवा सञ्चालनलाई दिगो बनाउन सहयोग पुग्ने बताइएको छ।
