उनका अनुसार यस्तो व्यवहारले पाइलटको ध्यान विचलित गराउनुका साथै सम्पूर्ण उडान सुरक्षामै प्रत्यक्ष जोखिम सिर्जना गरिरहेको छ ।
What you should know
काठमाडौँ — उडानका क्रममा अमर्यादित यात्रुको संख्या बढ्दै जानु, आकाशमा अनियन्त्रित रूपमा सञ्चालन भइरहेका ड्रोन (मानवरहित उड्ने यन्त्र) र ककपिट सुरक्षामा देखिएका जोखिम नेपाली उड्डयन क्षेत्रका प्रमुख चुनौती बन्दै गएको भन्दै पाइलट संघ नेपाल (पान)ले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा पाइलट संघ नेपालका सदस्य तथा एयरबस ए ३२० का वरिष्ठ पाइलट सुरज भण्डारीले पछिल्ला वर्षहरूमा अमर्यादित यात्रुको व्यवहार तीव्र रूपमा बढ्दै गएको बताए ।
उनका अनुसार यस्तो व्यवहारले पाइलटको ध्यान विचलित गराउनुका साथै सम्पूर्ण उडान सुरक्षामै प्रत्यक्ष जोखिम सिर्जना गरिरहेको छ ।
‘उडानका संवेदनशील चरणमा कुनै पनि प्रकारको अव्यवस्थित, असभ्य वा अनुशासनहीन व्यवहार स्वीकार्य हुँदैन,’ भण्डारीले भने, ‘यात्रु स्वयं अनुशासित नभएसम्म उड्डयन सुरक्षा पूर्ण हुन सक्दैन ।’
कार्यक्रममा उनले मानवरहित उड्ने यन्त्र (ड्रोन) तथा आधुनिक उड्डयन गतिविधि तीव्र रूपमा बढ्दै गएकाले आकाशीय सुरक्षामा नयाँ चुनौती थपिएको उल्लेख गरे । ड्रोन र विमान एउटै हवाई क्षेत्रमा सञ्चालन हुँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न वैज्ञानिक, व्यवहारिक र समन्वित नियमन आवश्यक रहेको उनले बताए । यसका लागि नीति निर्माण तहमा पाइलटहरूको सुझाव समेटिनुपर्नेमा उनले जोड दिए ।
पानका तर्फबाट ककपिट सुरक्षाको सन्दर्भमा बोल्दै भण्डारीले सामाजिक सञ्जाल, क्यामेरा प्रयोग तथा अनावश्यक हस्तक्षेपले पाइलटको ध्यान भंग हुने अवस्था सिर्जना गरिरहेको बताए । ‘उडानका अत्यन्त संवेदनशील चरणमा पाइलटको सम्पूर्ण ध्यान केवल उडानमै केन्द्रित हुनुपर्छ,’ हिमालय एयरलायन्समा कार्यरत पाइलट भन्डारीले स्पष्ट पारे ।
यससँगै पाइलट संघ नेपालले उड्डयन सुरक्षामा पाइलट र नियामक निकायबीचको सहकार्यलाई संस्थागत रूपमा मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । विगतमा नीति निर्माण प्रक्रियामा पाइलट समुदायको सहभागिता सीमित भए पनि हालको नेतृत्वले त्यसमा सकारात्मक परिवर्तनको संकेत दिएको भण्डारीको भनाइ थियो । ‘पाइलट संघलाई यस्तो मञ्च प्रदान गर्नु भनेको ककपिटको अनुभवलाई नीति तहमा जोड्ने प्रतिबद्धताको स्पष्ट संकेत हो,’उनले भने ।
चिनियाँ लगानीमा सञ्चालित हिमालय एयरलाइन्स अघि नेपाल वायुसेवा निगम र सैनिक उडानमा समेत काम गरीसकेका पाइलट भण्डारीले पछिल्ला वर्षहरूमा प्राधिकरणको सुरक्षा संस्कार र व्यावसायिक कार्यशैलीमा उल्लेखनीय सुधार आएको बताए । राष्ट्रिय उड्डयन सुरक्षा योजना अध्ययन गर्दा नियमन, अनुगमन र संस्थागत संरचनामा गुणात्मक प्रगति देखिएको भन्दै ‘सही व्यक्ति, सही स्थान’ को अवधारणा कार्यान्वयनतर्फ गएकोप्रति पाइलट संघले सन्तोष व्यक्त गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलमा कार्यसम्पादनमा आधारित नेभिगेसन मार्ग स्थापना, धावनमार्ग विस्तार तथा यात्रु टर्मिनल सुधारजस्ता पूर्वाधार विकासलाई पाइलटहरूले ‘खेल नै बदल्ने’ कदमका रूपमा मूल्याङ्कन गरेका छन् ।
हिमाली तथा दुर्गम क्षेत्रका विमानस्थलहरूमा जडान गरिएका प्रत्यक्ष समयका क्यामेरा र मौसम पूर्वानुमान राडारले उडान गर्ने वा नगर्ने निर्णय लिन महत्वपूर्ण सहयोग पुगेको भन्दै ती प्रविधि सबै दुर्गम विमानस्थलमा विस्तार गर्न पाइलट संघले माग गरेको छ।
पाइलट संघ नेपालले उड्डयन सुरक्षामा मानवीय पक्षको भूमिकालाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने बताएको छ। पाइलटको मानसिक स्वास्थ्य, थकान व्यवस्थापन र काम–जीवन सन्तुलन नै यात्रु सुरक्षाको आधार भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी अडिट केवल कागजी प्रक्रियामा सीमित हुन नहुने धारणा भण्डारीले राखे।
यसै सन्दर्भमा उनले पाइलटहरूको वृत्तिविकास र कल्याणलाई ध्यानमा राख्दै विद्यमान कानुनी तथा नियामक संरचनालाई समयसापेक्ष परिमार्जन गर्न आग्रह गरे। विशेषगरी ‘बायुयान चालक तथा इञ्जिनियरको उपयोग नियन्त्रण र सेवा सुरक्षा सम्बन्धी आदेश, २०७०’ लाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए ।
अन्त्यमा भण्डारीले हवाई दुर्घटना अनुसन्धानका लागि पूर्ण रूपमा स्वतन्त्र छानबिन गर्ने निकाय गठन गर्नुपर्ने र नेपाली पाइलटहरूको अनुभव तथा सीपलाई राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली मार्फत शैक्षिक मान्यता प्रदान गर्नुपर्ने प्रस्ताव अघि सारे।
‘प्राधिकरण विशाल वृक्ष हो भने हामी पाइलटहरू त्यसका हाँगाबिँगा हौँ। हाम्रो साझा लक्ष्य सुरक्षित र भरपर्दो नेपाली आकाश हो,’पर्यटन मन्त्री, पर्यटन सचिवसहित सहभागी समारोहमा उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०२६ को शुभकामना व्यक्त गर्दै उनले सरकार, प्राधिकरण र पाइलट समुदायबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
