‘निजी क्षेत्रमा भएको क्षति उकास्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने र युवाहरूलाई यही देशमा रोजगारीको अवसर सिर्जना गनपर्छ ।’
काठमाडौँ — जेन–जी अभियन्ता रक्षा बमले निजी क्षेत्र, सरकार र नागरिकबीचको साझा धरातल शान्ति, समृद्धि र सुशासन भएको बताएकी छन् ।
उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार निषेध र सुशासन सबैको साझा चाहना भए पनि देशमा अझै भ्रष्टाचार कायम रहनु गम्भीर भएको बताइन् । ‘सबैको चाहना भ्रष्टाचार नहोस् भन्ने हो । तर फेरि पनि देशमा भ्रष्टाचार किन छ भन्ने प्रश्न उठ्छ,’ उनले भनिन्,‘समस्याको निकासका लागि सबैले आफ्नो–आफ्नो भागको जिम्मेवारी लिनुपर्छ ।’
उनले भदौमा भएका आन्दोलनका क्रममा निजी क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै त्यो अवस्था कसैले पनि नचाहेको बताए । ‘निजी क्षेत्रमा ठूलो क्षति भयो । हामीले त्यो चाहेका थिएनौं । २३ गतेको कारण २४ गतेको अवस्था आयो,’ उनले भनिन्, ‘निजी क्षेत्रमा भएको क्षति उकास्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने र युवाहरूलाई यही देशमा रोजगारीको अवसर सिर्जना गनपर्छ ।’
