अर्थमन्त्री खनालले निजी क्षेत्रले कमाएको नाफालाई नराम्रो रुपमा हेर्न नहुने बताए ।
काठमाडौँ — निजी क्षेत्र कमाएको नाफा उसले मात्र उपभोग नगरेर त्यसको लाभ समाजको सबै तह र तप्कामा वितरण हुने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै अर्थमन्त्री खनालले निजी क्षेत्रले कमाएको नाफालाई नराम्रो रुपमा हेर्न नहुने बताए । ‘निजी क्षेत्र आफैले सरकारसँगको संवादमा हामी खरानीबाट उठ्छौं भनेको छ । यस्तो संवाद सरकारसँग मात्र गरेर हुँदोरहनेछ । सबै राजनीतिक दलहरुसँग पनि गर्नुपर्छ भनेर एफएनसीसीआईले यो संवाद आयोजना गरेको हो,’ उनले भने, ‘निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि हो । त्यसको लाभ समाजका सबै वर्ग र तप्कामा पुग्छ ।’
यति हुँदाहुँदै पनि हरेक आन्दोलनमा निजी क्षेत्रले क्षति भोग्नु परेको छ । यो अवस्थालाई नियन्त्रणका लागि निजी क्षेत्रले आमनागरिकसँग पनि पर्याप्त छलफल गर्नुपर्ने उनले बताए ।
यस्तै, निजी क्षेत्रले पनि संयमित र जिम्मेवार भएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
