‘यही बाटोले मात्र मुलुक अघि बढ्न सक्छ,’ उनले भने, ‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउनका लागि निजी क्षेत्रको सुरक्षा अपरिहार्य छ ।’
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्नु तथा निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नु सरकारको साझा प्रतिबद्धता भएको बताएका छन् ।
काठमाडौंमा आयोजित शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा बोल्दै मन्त्री खरेलले ‘उद्योग, व्यापार र व्यवसायका लागि वातावरण, निजी क्षेत्रको सुरक्षा-हामी सबैको प्रतिबद्धता’ भन्ने नारा लिएर अघि बढ्नुपर्ने बताए ।
‘यही बाटोले मात्र मुलुक अघि बढ्न सक्छ,’ उनले भने, ‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउनका लागि निजी क्षेत्रको सुरक्षा अपरिहार्य छ ।’
मन्त्री खरेलले वर्तमान सरकारका मुख्य तीन म्याण्डेटमध्ये निर्वाचन मुख्य भको र निर्वाचन हुने कुरा प्रमाणित भइसकेको दाबी गरे । उनका अनुसार मुलुक अहिले निर्वाचनमय भएको छ ।
उनले भ्रष्टाचारका ठूला मुद्दाहरू यही अवधिमा अदालत पुगेको उल्लेख गर्दै त्यसका लागि अहिलेको सरकारले उपयुक्त वातावरण बनाएको दाबी गरे । सरकारले सुशासनको आधाररेखा पनि यही क्रममा तयार गरेको मन्त्री खरेलले सम्बोधनमा बताए ।
निजी क्षेत्रको सम्पत्ति जलाइँदा सबैको मन दुखेको उल्लेख गर्दै मन्त्री खरेलले त्यसको पुनःस्थापनाका लागि सरकारको साथ रहने प्रतिबद्धता जनाए । ‘निजी क्षेत्रको सम्पत्ति सुरक्षित राख्नुपर्छ भन्नेमा दुईमत छैन,’ उनले भने ।
