खर्च कटाएर ४७ किसानले २ लाख ४० हजार रुपैयाँका दरले बाँडेर लिएका छन् ।
What you should know
संखुवासभा — किसानहरू बोराका बोरा अलैंची बोकेर भेला भए । अर्कातिरबाट व्यापारी पैसा बोकेर गाउँ आए । अलैंची तौलेर पैसा हिसाब गरे । एकमुष्ट पैसा हात पारेपछि ४७ किसानले बराबर भाग लगाए ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा गोगुने गाउँमा देखिएको दृश्य हो यो । सिसुवा गोगुने क्षेत्रमा किसानले सामूहिक रूपमा उत्पादन गरेको ११५ मन अलैंची उत्पादन बिक्री गरेका हुन् । 'कालो सुन' पनि भनिने अलैंची खरिद गर्न व्यापारी गाउँमै आएका थिए ।
स्थानीय कृषक भूपाल कुलुङका अनुसार स–साना टुक्रामा अलैंची खेती गर्दै आएका ४७ किसानले यो वर्ष सामूहिक खेती गरेका थिए । उत्पादित अलैंची प्रतिमन (४० किलो) ९८ हजार रुपैयाँका दरले बिक्री गर्दा १ करोड १२ लाख ७० हजार रुपैयाँ भएको छ । ‘यसपालि अलैंचीको उत्पादन सन्तोषजनक भयो, मूल्य पनि राम्रो पायौं,’ कुलुङले भने ।
अलैंची बिक्रीमार्फत प्राप्त रकमबाट खेतीमा लागेको सम्पूर्ण खर्च कटाएर किसानलाई समान रूपमा वितरण गरिएको छ । ‘गोडमेल, मलजल, बगानको रेखदेख, अलैंची टिप्ने, सुकाउने तथा भट्टीसम्म पुर्याउने लगायतमा खर्च भएको थियो,’ कुलुङले भने, ‘सबै खर्च कटाउँदा एक जना किसानको हातमा २ लाख ४० हजार रुपैयाँ पर्यो ।’
कसको जमिन थोरै वा धेरै छ भन्ने नछुट्याई सबैलाई समान रूपमा नाफा बाँडिएको हो । ‘हामी सबै एक परिवारजस्तै भयौं, नाफा पनि बराबरी, दुःख पनि बराबरी बाँड्यौं,’ कुलुङले भने, ‘सामूहिक खेतीको सबैभन्दा ठूलो फाइदा भनेकै आपसी विश्वास, सहकार्य र एकताको भावना बलियो भएको छ ।’
व्यापारी गाउँमै आउँदा अलैंची बजारसम्म ढुवानी गर्ने झन्झट पनि नपरेको अर्का किसान सूर्यकुम्भ राईले बताए । ‘पहिले–पहिले अलैंची बोकेर सदरमुकाम वा अन्य बजारसम्म लैजानुपर्थ्यो, समय पनि लाग्थ्यो, खर्च पनि धेरै हुन्थ्यो,’ उनले भने, ‘यसपालि गाउँमै व्यापारी आए, त्यसले हाम्रो समय, श्रम र खर्च जोगियो ।’
स्थानीय सुमित्रा राईका अनुसार अलैंची खेतीमा राम्रो आम्दानी हुँदा गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास बढेको छ । ‘गाउँमै काम पाइयो र राम्रो आम्दानी भयो भने किन विदेश जानुपर्यो ?’ उनले भनिन्, ‘युवालाई गाउँमै रोक्न यसले ठूलो भूमिका खेल्छ ।’
किसानले अलैंची खेती विस्तार गर्ने योजना पनि बनाएका छन् । रोग नियन्त्रण, गुणस्तरीय उत्पादन र दीर्घकालीन बजार सुनिश्चितताका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायको सहयोग चाहिने उनीहरूको भनाइ छ । ‘अलैंचीमा रोग लाग्ने समस्या पनि बेलाबेला देखिन्छ,’ सुमित्राले भनिन्, ‘प्राविधिक सहयोग, तालिम र स्थायी बजारको व्यवस्था भयो भने अझ राम्रो उत्पादन गर्न सक्छौं ।’ स्थानीय तहले पनि सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति ल्याए आसपासका गाउँमा पनि उत्पादन बढाउन सकिने उनले बताइन् । सिसुवा गोगुनेको सामूहिक अलैंची खेती ग्रामीण अर्थतन्त्र सुधारको सफल उदाहरण बनेको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ बताउँछन् । ‘सानो प्रयासबाट सुरु गरिएको सामूहिक खेतीबाट करोडौंको आम्दानी भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिमा आधारित जीवनशैलीलाई सम्मान र आत्मनिर्भर बनाउने बाटो पनि देखाएको छ । एकता, सहकार्य र परिश्रम भए गाउँमै समृद्धि सम्भव छ भन्ने देखिएको छ ।’
