विपद्‍बाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमश: ५ करोड, १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आर्थिक वर्षमा तत्काल आवश्यक रकम निकासा दिइएको छ ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

2.19 billion rupees agreed for reconstruction of disaster-damaged roads in Ilam

What you should know

काठमाडौँ — गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ ।

क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको छ । 

क्षति भएका मेची राजमार्ग, माई खोला पुल राजदुवाली, माई खोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिनेछ ।

अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेन्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गरिनेछ ।

३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्ने गरी  मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । 

२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो ।

टोलीले विपद्बाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन  तथा दीर्घकालीन योजना ल्याउने  प्रतिबद्धता जनाएको थियो ।

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गतकै माई खोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५/५ करोड र मेची राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चितता प्रदान गरिएको छ ।

यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माई खोला राजदुवाली तथा माई खोला पुल वेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ । 

कान्तिपुर

Link copied successfully