‘दिगो भविष्यका लागि हिमाली नवप्रवर्तन’ मुख्य विषय
What you should know
काठमाडौँ — एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट-२०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा समिट आगामी २०२६ मे २७ मा काठमाडौंमा हुने जानकारी दिइयो ।
समिटको मुख्य विषय ‘दिगो भविष्यका लागि हिमाली नवप्रवर्तन’ रहेको छ ।
समिट विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको ऐतिहासिक उपलब्धिको स्मरणमा मनाइने अन्तर्राष्ट्रिय एभरेस्ट दिवसको अवसरमा आयोजना गरिन लागेको हो ।
सन् २०२५ मा आयोजित पहिलो एभरेस्ट समिटियर्स समिट ‘दिग्गजहरूको सम्मान, भविष्यलाई प्रेरणा’ भन्ने नारासहित सम्पन्न भएको थियो । उक्त समिटलाई नेपालको पर्वतारोहण इतिहासमा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको थियो । पहिलो संस्करणले नेपाल तथा विश्वभरका सगरमाथा आरोही, सरकारी निकाय, अन्तर्राष्ट्रिय पर्वतारोहण संस्था, संरक्षण विज्ञ, पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई एउटै मञ्चमा ल्याउँदै नीति तहका अर्थपूर्ण छलफल र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाएको थियो ।
दोस्रो संस्करणको समिटमा नेपाल तथा विश्वभरका एभरेस्ट समिटियर्ससँगै नीति निर्माता, पर्वतारोहण संस्था, वातावरण संरक्षणकर्मी, पर्यटन विज्ञ, अनुसन्धानकर्ता र अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ । समिटले पर्वतारोहणको विरासत, आरोहीको सुरक्षा, जलवायु परिवर्तन, दिगो पर्यटन तथा हिमाली अभियानको भविष्यजस्ता विषयमा उच्चस्तरीय अन्तर्राष्ट्रिय संवादको मञ्च प्रदान गर्ने आयोजकले जनाएको छ ।
एकदिने समिटमा मुख्य सम्बोधन, विज्ञ प्यानल छलफल र नीतिगत संवाद हुनेछन् । हिमाली क्षेत्रमा देखिँदै आएको हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीको कल्याण, अभियान सुरक्षा र नीतिगत सुधारजस्ता जटिल चुनौतीहरूमा केन्द्रित छलफल गरिनेछ । साथै सगरमाथालाई साझा विश्व सम्पदाका रूपमा संरक्षण गर्न सामूहिक जिम्मेवारीको आवश्यकता औंल्याइनेछ ।
एभरेस्ट एलायन्स नेपालले समिट २०२६ लाई स्मरणमात्र होइन, सगरमाथा आरोहीको सम्मान, उनीहरूको अनुभवको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य र समुदायमैत्री तथा नैतिक पर्वत पर्यटन प्रवर्धनतर्फ उन्मुख कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
यसै अवसरमा एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ का लागि औपचारिक दर्ता प्रक्रिया पनि सुरु गरेको जनाएको छ । विश्वभरका सगरमाथा आरोहीसहित कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थालाई दर्ताका लागि आह्वान गरिएको छ ।
एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही र हिमाली क्षेत्रका विज्ञहरूको राष्ट्रिय साझा मञ्च हो । संस्थाले पर्वतारोहणको विरासत संरक्षण, आरोही सुरक्षा, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास तथा विश्वव्यापी पर्वतारोहण र हिमाली संरक्षणमा नेपालको नेतृत्व सुदृढ गर्न काम गर्दै आएको छ ।
