पाँच महिनामा ८ करोड २४ लाख रुपैयाँ अचार निर्यात

क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, अमेरिका, इटाली, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Pickle exports worth Rs 82.4 million in five months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ करोड २४ लाख ८८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो । 

भन्सार विभागका अनुसार १ लाख ४० हजार ३०४ किलो अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । क्यानडा,  अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, अमेरिका, इटाली, बेलायत, बेल्जियम, डेनमार्क र मलेसियामा अचार निर्यात भएको छ ।

सबैभन्दा बढी क्यानडामा १ करोड ९४ लाख ४२ हजार, अस्ट्रेलियामा १ करोड ९३ लाख १९ हजार रुपैयाँको अचार निर्यात भएको छ ।  कोरियामा १ करोड २५ लाख ३६ हजार, जापानमा ९३ लाख ४९ हजार, अमेरिकामा ८४ लाख २६ हजार, इटालीमा ६३ लाख १८ हजार, बेलायतमा ३६ लाख ८ हजार, बेल्जियममा २६ लाख ४८ हजार रुपैयाँको निर्यात भएको छ ।

सबैभन्दा कम मलेसियामा ३ लाख ५५ हजार रुपैयाँको अचार निर्यात भएको छ भने डेनमार्कमा ४ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ ।

गत वर्ष नेपालले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, क्यानडा, बेल्जियम, बेलायत, डेनमार्क, कोरिया र मलेसियामा अचार निर्यात गरेको थियो । सबैभन्दा बढी अस्ट्रेलियामा ३ करोड ४ लाख ४० हजार र सबैभन्दा कम मलेसियामा ८ लाख ८० हजार रुपैयाँको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षभर १८ करोड २६ लाख ४६ हजार रुपैयाँको अचार निर्यात गरेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ देखि मात्रै भन्सार विभागले अचार आयात र निर्यातको तथ्यांक राख्न थालेको हो । उक्त वर्ष ३९ लाख २२ हजार रुपैयाँको अचार निर्यात गरेको थियो । कोरोना महामारीपछि नेपालमा अचार उत्पादन उल्लेख्य रूपमा बढेको छ ।

स्वदेशमै उत्पादित विभिन्न ब्रान्डका अचार विशेषगरी तेस्रो मुलुकमा बसोबास गर्ने नेपालीहरूबीच लोकप्रिय बन्दै गएका छन् । यसैका कारण नेपाली अचारको माग विदेशमा बढेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully