ठेक्का तोडेपछि सुनकोशी-मरिण डाइभर्सनको मूल्यांकन गरिँदै

नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउन मन्त्री कुलमान घिसिङको निर्देशन 

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Sunkoshi-Marin diversion being evaluated after contract termination

What you should know

काठमाडौँ — राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन गरिएको छ ।

आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो ।

सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले नियन्त्रणमा लिएको छ । अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्यांकन गरी लागत अनुमान तय गर्ने एवं टेन्डरका कागजात बनाउने काम भइरहेको आयोजनाले जनाएको छ । 

रामछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवर्क्स निर्माण क्षेत्रको सोमबार निरीक्षण गरी टेन्डर रद्द गरिएपछिको साइटको अवस्था र नयाँ टेन्डर निकाल्न भइरहेको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जानकारीसमेत लिएका छन् । नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउन आयोजनालाई उनले निर्देशनसमेत दिएका छन् । 

‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाई समेत समेट्ने गरी मूल्यांकन गरेर सोहीबमोजिम नयाँ टेन्डर गर्नुपर्छ । सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नुहुँदैन, नयाँ तालिकाबमोजिम निर्माण सकिने सुनिश्चित गरी नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउनुपर्छ,’ उनले भने ।

ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दासमेत त्यसतर्फ कुनै चासो नदिएकाले पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको थियो । आयोजना निर्माणका लागि पटेल–रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कान्तिपुर

Link copied successfully