आयात–निर्यातमै सबैभन्दा बढी हिस्सा भटमासको तेल, आन्तरिक उत्पादन बढ्न नसक्दा निर्यात दिगो हुन सकेन, वस्तु निर्यातभन्दा बढी आयात गरिने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा ।
What you should know
काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिरसम्म) ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशतले बढेको भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनले देखाएको छ ।
आयात बढेसँगै वैदेशिक व्यापार घाटा पनि बढेको विभागको तथ्यांक छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । नेपालले वस्तु निर्यातभन्दा बढी आयात गरिने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । नेपालले सबैभन्दा बढी कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामजन्य सामग्री, स्मार्टफोन, डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट, सुनलगायत वस्तु आयात गरेको छ ।
नेपालबाट अन्य मुलुकमा निर्यात हुने वस्तुमा भने प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, अन्य फेल्टका सामग्री, पाम तेललगायत छन् । आयात र निर्यात हुने मुख्य वस्तुमा कच्चा भटमासको तेल छ । विभागका अनुसार चार महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँको अप्रशोधित भटमासको तेल आयात भएको छ । सोही अवधिमा ४६ अर्ब ५५ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात गरिएको छ ।
तेस्रो मुलुकबाट आयात हुने सोयाबिन कच्चा पदार्थ नेपालमा प्रशोधन भएर भारत निर्यात गरिन्छ । निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी भटमास तेल स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्न रुचाउँछन् । कच्चा भटमासको तेल आयात र प्रशोधन गरी निर्यात गरिने भएकाले तथ्यांकमा निर्यात बढेको देखिएको पूर्वसहसचिव रविशंकर सैंजु बताउँछन् ।
‘कच्चा भटमासको तेल धेरै मात्रामा आयात हुन्छ र प्याकेजिङ गरी भारतमा पठाइन्छ, यसले आयात र निर्यातमा अंक मात्रै बढेको देखाउँछ, ४६ अर्बको आयात गरी ४६ अर्बकै निर्यात गर्दा यसले ठूलो योगदान दिन सकेको छैन,’ उनले भने, ‘ठूलो मात्रामा योगदान नदिँदा रोजगारीसमेत सिर्जना गर्दैन । यसले निर्यातलाई पनि दिगो बनाउँदैन ।’
भटमास नै आयात गरी तेल उत्पादन गर्ने र निर्यात गर्ने हो भने ठूलो मात्रामा रोजगारी सिर्जना हुने र तेलको पिनासमेत विदेश पठाउन सकिने सैंजुको भनाइ छ । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ४५ अर्ब ६० करोड रुपैयाँको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँको पेट्रोल र २२ अर्ब ३९ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको विभागको तथ्यांक छ ।
व्यापार घाटा बढाउन डिजेल, पेट्रोल, एलपीजी ग्यासको ठूलो योगदान छ । यी वस्तु आयात मात्रै हुन्छन् । सरकारले डिजेल र पेट्रोल आयात प्रतिस्थापनका लागि विद्युतीय सवारीमा जोड दिएको छ भने ग्यास आयातलाई निरुत्साहित गर्न विद्युतीय चुलोमा जोड दिँदै आएको छ । तर पनि प्रभावकारी हुन सकेको छैन ।
निर्याततर्फ आन्तरिक उत्पादन हेर्ने हो भने अलैंची, गलैंचा र फेल्टका सामग्री निर्यात भएको विभागको तथ्यांक छ । पाँच महिनामा ५ अर्ब ५३ करोडको अलैंची, ४ अर्ब १३ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ । अलैंची र गलैंचाजस्ता आन्तरिक वस्तु ठूलो मात्रामा र निर्यातका लागि उत्पादन गर्न नसकिएको सैंजुको भनाइ छ । ‘नेपालमा अलैंची उत्पादन हुन्छ तर कच्चा पदार्थका रूपमा भारत जान्छ,’ उनले भने, ‘एक त निर्यातका लागि भनेर ठूलो परिमाणमा अलैंची उत्पादन गर्न सकेका छैनौं । उत्पादित पनि प्रशोधन गरेर बेच्न सकेका छैनौं । त्यसमा पनि भारतकै भरमा छौं ।’
परम्परागत रूपमा उत्पादन र बिक्री भइरहेकाले व्यावसायिक रूपमा बजार खोज्नुपर्नेमा सैंजुले जनाए । विभागका अनुसार नेपालले १ सय ४८ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ । त्यसमध्ये ३४ मुलुकसँग नाफाको व्यापार गर्छ भने १ सय १४ मुलुकसँग घाटाको व्यापार गरिरहेको छ । डेनमार्क, रोमानिया, स्विडेन, नाइजर, इराक, सामोवा, आइसल्यान्ड, सेसल्स, न्यु क्यालोडोनिया, फिजी, लेबनान, नर्वे, कोलम्बियालगायत मुलुकसँग नाफाको व्यापार गर्दै आएको छ ।
डेनमार्कबाट ६ करोड ९७ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ४५ करोड ३३ लाख ४ हजार रुपैयाँको निर्यात गरेको छ । रोमानियासँग ६ करोड ३४ लाख ६९ हजार रुपैयाँले नाफाको व्यापार गरेको छ । रोमानियाबाट १ करोड ७८ लाख ३० हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले ८ करोड १२ लाख ९९ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । भारत, चीन, अर्जेन्टिना, यूएई, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया, अस्ट्रेलिया, कतार, क्यानडा, जापानलगायत मुलुकसँग घाटाको व्यापार गरिरहेको छ ।
विभागका अनुसार भारतबाट ४ खर्ब ३४ अर्ब रुपैयाँको वस्तु ल्याउँदा नेपालले ९५ अर्ब ४ करोड २० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालले ४६ करोड ६८ लाख रुपैयाँको निर्यात गरेको छ । विभागले १ लाख रुपैयाँभन्दा कम व्यापार गर्ने मुलुकको तथ्यांक मुलुकअनुसार छुट्टै सार्वजनिक गर्दैन । नेपालले आन्तरिक उत्पादनअनुसार बजार पहिचान गरेर बिक्री गर्न नसकेको नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्मा बताउँछन् ।
‘हाम्रो उत्पादनअनुसार बजार खोज्न सकेका छैनौं, परम्परागत रूपमै बिक्री गर्दै आएका छौं, नयाँ बजारको खोजीमै लागेका छैनौं,’ उनले भने । ठाउँ र समयअनुसार मागमा भिन्नता आए पनि नेपालको उत्पादनमा फरकपन आउन नसकेको उनको भनाइ छ । ‘गलैंचा हिजो नि अमेरिका जान्थ्यो । आज पनि जान्छ, तर हामीले पठाउने सामान उस्तै छ । नयाँपन आउन सकेन,’ शर्माले भने, ‘खरिदकर्ताको रोजाइअनुसार भन्दा पनि बिक्रीकर्ताले उत्पादन गरेको सामान मात्रै निर्यात भइरहेको छ ।’
