एसोसिएसनको चौथो साधारणसभाले मंगलबार महेश स्वाँरको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
What you should know
काठमाडौँ — नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) को अध्यक्षमा महेश स्वाँर निर्वाचित भएका छन् । एसोसिएसनको चौथो साधारणसभाले मंगलबार स्वाँरको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । स्वाँर कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
कार्यसमिति सदस्यमा पुनम सिंह, डा. गोपाल थापा, अभयप्रसाद गोर्खाली, गोविन्दप्रसाद ढकाल, विजय अमात्य, सुजनराज श्रेष्ठ, श्रीष कर्माचार्य र नीति बस्नेत चयन भएको एसोसिएसनले जनाएको छ । एसोसिएसनको साधारणसभाका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरे ।
वर्तमान सरकारको म्यान्डेट २१ फागुनमा निर्वाचन गर्ने रहेको र आफू त्यसैको मार्केटिङमा लागेको मन्त्री खरेलले बताए । ‘दलका पार्टी कार्यालयसम्म पुगेर, नेताहरूलाई भेटेर, सरोकारवाला सबैसँग छलफल गरेर निर्वाचनको वातावरण बनाउन हामी लागिपरेका छौं,’ उनले भने, ‘अब निर्वाचन हुने सुनिश्चित भएको छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति निवासमा मुख्य दलका शीर्ष नेतासँग गरेको भेटले पनि चुनाव सुनिश्चित भएको उनले उल्लेख गरे । देशको उद्योग, व्यापार तथा व्यवसायमा हाल तहसनहसको स्थिति रहेको र सरकारले निजी क्षेत्रलाई साथ लिएर काम गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
साधारणसभामा एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापनसमेत गरियो । स्वाँर नेतृत्वको एसोसिएसनले नयाँ सल्लाहकार समितिलाई पनि स्वागत गरेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मार्केटिङ क्षेत्रले १० प्रतिशत योगदान गरिरहेको र नेपालले पनि यस क्षेत्रलाई परिचालन गर्नुपर्ने अध्यक्ष स्वाँरले बताए ।
‘नेपालका विभिन्न क्षेत्रको पहिचान तथा व्यापार व्यवसायको विश्व बजारीकरण गर्न मार्केटिङ क्षेत्रले ठूलो योगदान गर्न सक्छ,’ स्वाँरले भने, ‘नेपालमा पनि हामी यो काम गर्न तयार छौं । हामी सरकार, योजना आयोग र निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं । त्यसका लागि उपयुक्त वातावरण बनाइदिनुहुन म सरकारसँग आग्रह गर्दछु ।’
