गत आइतबार २ हजार ५ सय ९४ मा रहेको नेप्से सोमबार २६ सयभन्दा माथि पुग्यो तर आइतबारको गिरावटसँगै समग्र नेप्से २ हजार ५ सय ९५.१० बिन्दुमा
What you should know
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १९.९२ अंकले घटेको छ । गत बिहीबारको तुलनामा ०.७६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ९५.१० बिन्दुमा ओर्लेको छ । योसँगै नेप्से पछिल्लो दुई दिनदेखि लगातार घटेको छ ।
गत बिहीबार नेप्से साढे १० अंकले घटेर बन्द भएको थियो । आइतबार नेप्सेले बिहीबारकै प्रवृत्ति पछ्याएको हो । आइतबार नेप्से फेरि २ हजार ६ सयभन्दा तल ओर्लेको छ । यो गत आइतबारकै बराबर हो । गत आइतबार नेप्से २ हजार ५ सय ९४.८७ बिन्दुमा थियो । सोमबार नेप्से २ हजार ६ सयभन्दा माथि पुगेको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ४३ कम्पनीको सेयर मूल्य बढ्यो, २०७ कम्पनीको मूल्य घट्यो, ७ कम्पनीको मूल्य स्थिर रह्यो । यस दिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो । यस दिन नेप्से एसवाई प्यानलको सेयर मूल्य सबैभन्दा बढी ९.९९ र सिटिजन्स बैंकको ऋणपत्रको ९.९८ प्रतिशतले बढ्यो । यीसँगै आइतबार ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
आइतबार सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घट्यो । नारायणी विकास बैंकको सेयर मूल्य ७.५५ र अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले घटे । यस दिन कुल ७० हजार ५ सय ७६ पटकको सेयर कारोबारमा १ करोड १२ लाख ८५ लाख ९९ हजार ३ सय ३४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा आइतबार कारोबार रकम थोरैले कम हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकमका आधारमा आइतबार स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा अघि रह्यो । सो दिन यो कम्पनीको १३ करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटे । सो दिन सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.१९ प्रतिशतले सकारात्मक रह्यो । नेप्से करिब २० अंकले घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण साढे ३३ अर्बले खुम्चिएको छ । गत बिहीबार ४३ खर्ब ९० अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार घटेर ४३ खर्ब ५७ अर्ब रुपैयाँ कायम भएको छ ।
