गत कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाईको उद्घाटन गर्दा दैनिक ५ सय लाइसेन्स छाप्ने भने पनि उक्त संख्यामा काम हुन सकेको छैन ।
What you should know
काभ्रे — गत कात्तिकमा जिल्लास्थित आईटी पार्कमा उद्घाटन गरिएकाे सुरक्षित मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाईमा ढिलासुस्ती भइरहेकाे छ ।
लाइसेन्स छपाईका लागि सञ्चालनमा आएको सुरक्षित मुद्रण केन्द्रमा यातायात व्यवस्था विभागबाट आवश्यक 'डाटा' समयमै प्राप्त हुन नसक्दा छपाई प्रक्रिया ढिलासुस्ती भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए ।
उनका अनुसार विभागको मुख्य 'सफ्टवेयर' र ‘मिडलवेयर’ प्रणाली पूर्णरूपमा सञ्चालनमा नआएकाले लाइसेन्स छपाइका लागि आवश्यक विवरण 'म्यानुअली' संकलन गर्नुपरेको छ । 'बल्क डाटा'को सुविधा नहुँदा एकैपटक हजारौं लाइसेन्स छपाइ गर्न नसकिएको र दैनिक तीन/चार सय 'डाटा' मात्र तान्न सकिने अवस्था रहेको उनले बताए ।
गत कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाईको अपौचारिक उद्घाटन गरेका थिए । उद्घाटनको समयमा केन्द्रमा दैनिक ५ सय लाइसेन्स छाप्ने भनिए पनि उक्त संख्यामा काम भएको छैन । ‘सुरुवातमा दैनिक ५ सय लाइसेन्स छपाई गर्ने योजना रहे पनि हाल विभागबाट हप्तामा दुई पटक मात्र डाटा उपलब्ध गराइरहेको छ,’ उनले भने, ‘एक पटकमा कहिले पाँच/सात सय त कहिले १ हजारसम्म डाटा आउने गरेको र प्राप्त डाटाको आधारमै छपाइ तथा वितरण गर्नुपर्ने अवस्था रहेको छ ।’
उद्घाटन भएयता केन्द्रमा हालसम्म करिब ७ हजार लाइसेन्सका लागि 'डाटा' प्राप्त भएकोमा करिब ६ हजार लाइसेन्स छापेर वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी 'डाटा' पनि दुई दिनभित्र छपाई गरी वितरण गरिने तयारी रहेको छ ।
प्रिन्टिङ कम्पनीले आफूहरू सेवा प्रदायक मात्र भएको र 'डाटा' उपलब्ध गराउने, प्रणाली सञ्चालन तथा सेवाग्राहीको विवरणको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागकै रहेको जनाएकाे छ । विभागबाट सफ्टवेयर प्रणाली पूर्णरूपमा सञ्चालनमा आएपछि छपाई प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको उनले बताए ।
पहिलो चरणमा अत्यावश्यकसहित १२ लाख 'लाइसेन्स' छपाई गर्ने केन्द्र र विभाग बीच सहमति भएको थियो । हाल देखिएका प्राविधिक समस्या समाधान भएको अवस्थामा अबको ६ महिनाभित्र छपाई प्रणाली पूर्णरूपमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको उनले बताए ।
यातायात विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडाले विभागले हालसम्म करिब ८ हजार 'डाटा' केन्द्रलाई पठाएको र केन्द्रबाट ६५ सय लाइसेन्स छपाई भएर प्राप्त भएको बताए । उनका अनुसार जेन-जी आन्दोलनअघि 'लाइसेन्स'का लागि औसत दैनिक १८ सयदेखि ५ सयसम्म आवेदन आउने गरेकाे थियाे । तर अहिले दैनिक २ सयदेखि २५० सम्म आकस्मिक आवेदन फार्म आउने गरेको छ । अहिले केन्द्रलाई सातामा ८ सयदेखि १२ सयसम्म 'डाटा' पठाउने गरेको उनले जानकारी दिए । 'अहिले हामीले आकस्मिक प्रयोजनको लाइसेन्स छपाई गरिरहेका छौं । १२ लाख लाइसेन्स छपाईका लागि ब्लक डाटा पठाउनुपर्नेछ । त्यसको लागि विभागले ‘मिडलवेयर पर्सनलाइजेसन सफ्ट्वेर’ प्रणाली बनाइरहेको छ ।'
याे प्रणालीमा केन्द्रले 'ब्लकमा डाटा' हालेपछि १२ लाख लाइसेन्स छपाईको काम गर्ने सम्झौता गरिएको थियो । सम्झौता अनुसार अबको ४ महिनाभित्र १२ लाख लाइसेन्स छपाई गर्ने लक्ष्य अनुसार नै काम भइरहेको उनले बताए ।
