नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुन: पोखरेल

लेयर्स कुखुरा पाल्ने देशभरका १६० जति कुखुरा व्यवसायी संघमा आबद्ध भएको पोखरेलले जानकारी दिए ।

पुस ४, २०८२

रमेशकुमार पौडेल

Pokharel reappointed as president of Nepal Layer Poultry Breeders Association

What you should know

चितवन — नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुन: विनोद पोखरेल चयन भएका छन् । भरतपुरमा शुक्रबार सम्पन्न तेस्र‍ो साधारणसभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

अण्डाका लागि लेयर्स कुखुरा पाल्ने ठुला कुखुरा व्यवसायीहरू यो संघमा आबद्ध छन् । पोखरेल यसअघि पनि संघको अध्यक्ष थिए । लेयर्स कुखुरा पाल्ने देशभरका १६० जति कुखुरा व्यवसायी संघमा आबद्ध भएको पोखरेलले जानकारी दिए । 

हाल नेपालमा दैनिक ३८ देखि ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको उनले बताए । कोरानोकालभन्दा अघि दैनिक ६० लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको उनले बताए । कोरोनापछि कुखुरापालन व्यवसायमा नकारात्मक असर परेको र कुखुरा पाल्ने किसानको संख्या र उत्पादन घटेको उनले बताए । तीन वर्षअघि संघ खोलेर व्यवसायीका हितमा काम गर्दै आएका कारण पछिल्लो समय यस क्षेत्रले केही राहत अनुभव गरेको उनले बताए ।

संघको नवगठित समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला र कोषाध्यक्षमा प्रकाश चपागाईं तथा कार्यसमितिको वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने रहेका छन् । 

त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरूमा राजु अधिकारी, आशीष भट्टराई, विवेक भट्ट, सञ्जिव खनाल, ललित जिसी, गंगाराम भट्टराई, भरत शर्मा र कृष्णबहादुर आले चयन भएका छन् । कुखुराको लागत मूल्यअनुसार बिक्री मूल्य तय गर्न र भारतबाट अवैध रूपमा भित्रिने कुखुरा, कुखुराका चल्ला र अण्डा रोक्न संघले सरकारसँग माग गरेको छ । 

संघले हालै कुखुराको एउटा अण्डा उत्पादन गर्दा १९ रूपैयाँ १२ पैसा लागत लाग्ने जनाएको छ । संघकै सक्रियता गठन भएको विज्ञहरूको समितिले यो लागत तय गरेको हो ।

कुखुरा पालकहरूले सरकारी निकायले पनि यो लागत मूल्यलाई मान्यता दिएर यसका आधारमा नयाँ बिक्री मूल्य तय गर्ने वातावरण बनाउन माग गरेका छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully