म व्यवसायी साथीहरूलाई भन्न चाहन्छु—उच्च मनोबल लिएर काम गर्नुहोस् । योभन्दा प्रतिकूल परिस्थितिमा पनि मानिसहरूले मेहनत गरेका छन् । सबै देशहरू विपन्न हुनुका पछाडि विभिन्न कारणहरू हुन्छन् । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने अवस्था छैन । -गभर्नर पौडेल
What you should know
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।
आज गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्ने बताउका हुन् ।
उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन् । जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनको भनाइ छ । परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।
गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वानसमेत गरे । ऊर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।
गभर्नर पौडेलले बोन्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए । ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
यस्तो छ गभर्नर पौडेलको भनाइ
ठूलो खर्च गर्न आँट गरियोस् । बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौँ । बोन्ड जारी गर्ने विषयमा पनि हाम्रो नेगोसियसन भएको थियो । ऊर्जा, यातायातजस्ता क्षेत्रमा राम्रो खर्च गर्न प्रयास गरौँ । ऊर्जा र यातायातमा धेरै सम्भावना छन् । अहिले प्रयोग भएको सम्भावनाको केही प्रतिशत मात्र हो । यसलाई अझ धेरै राम्रो बनाउन सकिन्छ । यातायात क्षेत्रमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजीकरण गर्छौँ ।
म व्यवसायी साथीहरूलाई भन्न चाहन्छु—उच्च मनोबल लिएर काम गर्नुहोस् । योभन्दा प्रतिकूल परिस्थितिमा पनि मानिसहरूले मेहनत गरेका छन् । सबै देशहरू विपन्न हुनुका पछाडि विभिन्न कारणहरू हुन्छन् । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने अवस्था छैन ।
हामी धेरै प्रकारका आरोह–अवरोह पार गरेर यहाँ आइपुगेका छौँ । २० वर्षअघि देशमा आन्तरिक द्वन्द्व थियो । राजदरबार हत्याकाण्ड भयो । यति धेरै भूकम्प आए । विभिन्न प्रकारका उतारचढाव भए । त्यसबीच पनि केही कुराले हामीलाई स्थिर बनाइरहेका छन् । तीमध्ये एक हाम्रो आवधिक निर्वाचन प्रणाली हो ।
निर्वाचनहरू स्वच्छ भइरहेका छन् भन्नेमा हामी सबैको विश्वास छ । कम स्रोत भएका व्यक्तिहरू पनि स्वतन्त्र रूपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत दल बाहिरबाट पनि उम्मेदवारहरू विजयी भइरहेका छन् । यिनै कुराहरूले हामीलाई अघि बढ्न सहयोग पुर्याइरहेका छन् ।
