सरकारी निकायले पठाए चार वर्षमा साढे ५ करोड एसएमएस

विभागको सिस्टममा तथ्यांक हेर्ने संरचना छैन, एसएमएसको तथ्यांक फिल्टर गर्न खोज्दा सर्भर ह्याङ भइरहने समस्या

पुस ३, २०८२

सजना बराल

Government agencies sent 55 million SMS in four years

What you should know

काठमाडौँ — सरकारी निकायहरूले चार वर्षमा साढे ५ करोड एसएमएस पठाएका छन् । सूचना प्रविधि विभागले पुस २०७८ देखि कार्यान्वयनमा ल्याएको केन्द्रीकृत एसएमएस गेटवे प्रणालीमार्फत हालसम्म ५ करोड ४६ लाख ३८ हजार एसएमएस पठाइएको हो ।

यसमा अहिले १ सय ४९ सरकारी निकाय जोडिएको विभागले जनाएको छ । एसएमएस गेटवेमार्फत वर्षमा औसत १ करोड ३६ लाख ६० हजार वटा एसएमएस पठाइएको देखिन्छ । 

गेटवेमार्फत एसएमएस पठाएबापत चार वर्षमा करिब ७१ करोडदेखि ९८ करोड रुपैयाँसम्म सरकारी राजस्व जोगिएको अनुमानएसएमएस गेटवेमा प्रतिएसएमएस करसहित २० पैसा शुल्क लाग्ने गरेको छ । यो लागत निजी सेवा प्रदायकहरूको तुलनामा निकै कम हो । गेटवेमा आबद्ध नहुनेहरूले प्रतिएसएमएस डेढदेखि २ रुपैयाँसम्म तिर्नुपर्छ । यही औसत दरका आधारमा गणना गर्दा गेटवेमार्फत एसएमएस पठाएबापत चार वर्षमा करिब ७१ करोडदेखि ९८ करोड रुपैयाँसम्म सरकारी राजस्व जोगिएको अनुमान गर्न सकिन्छ । कम मूल्यमा सेवा उपलब्ध हुँदा सरकारी निकायले कम शुल्कमा धेरै नागरिकलाई आफ्नो सूचना पठाउन पाएको विभागका सूचना प्रविधि अधिकृत प्रकाश दवाडीले बताए ।

 एसएमएस गेटवेबाट मासिक १३ लाख हाराहारीमा एसएमएस आदानप्रदान भइरहेका छन् । नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकसँग विभागले सहकार्य गर्दै गेटवे सेवा सञ्चालन गरेको छ । सबैभन्दा धेरै एसएमएस पठाउने निकायबारे प्रविधि विभागले ‘सर्भर ह्याङ’ भएकाले ‘फिल्टर’ गर्न नसकेको जनाएको छ । ‘त्यत्रो साढे ५ करोड एसएमएस फिल्टर गर्न सम्भव भएन,’ विभागका सूचना अधिकारीसमेत रहेका सूचना प्रविधि अधिकृत दवाडीले भने, ‘सिस्टममा तथ्यांक हेर्ने संरचना तयार भएको छैन । एसएमएसको तथ्यांक फिल्टर गर्न खोज्दा सर्भर ह्याङ भइरहने समस्या छ ।’ 

गेटवे प्रणालीले नागरिकसँग सूचना आदानप्रदान गर्न सहज बनाए पनि स्वयं सेवा सञ्चालन गर्ने प्रविधि विभागभित्रै तथ्यांक व्यवस्थापन र सर्भर क्षमतामा कमजोरी देखिन्छ । हाल विभागको इमेल प्रणालीमा पनि समस्या रहेको सूचना अधिकारी दवाडीले जानकारी दिए । 

यसअघि महान्यायाधिवक्ताको कार्यालय, सर्वोच्च अदालत, सर्वसाधारणसँग सिधा सम्पर्क हुने यातायात व्यवस्था विभाग, श्रम विभागजस्ता निकायले धेरै एसएमएस पठाउनेमध्ये परेका थिए । २०७८ पुस ७ मा सेवा सुरु भएको दुई महिनामै महान्यायाधिवक्ताको कार्यालयले १० हजार हाराहारी म्यासेज पठाएको थियो ।

कार्यालयले सरोकारवालालाई मुद्दाको अपडेट एसएमएसबाट पठाउने गरेको थियो । दिनको औसत डेढ–दुई सयको हाराहारीमा म्यासेज जाने र त्यसरी म्यासेज आउन थालेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा आफ्ना मुद्दाबारे सोधीखोजी गर्नेको संख्या बढिरहेको त्यो बेला कार्यालयले बताएको थियो । जिल्ला वकिलको कार्यालय ७७, उच्च सरकारी वकिलको कार्यालय १८ र विशेष सरकारी वकिलको कार्यालय १ गरी जम्मा ९७ कार्यालय छन् ।

यो सेवाको प्रभावकारिता र सुपथ मूल्यका कारण अन्य सरकारी निकायले पनि यसमा चासो देखाउँदै सेवा लिन सम्पर्क गरिरहेको विभागले बताएको छ । यातायात व्यवस्था विभाग, श्रम, रोजगार तथा यातायात मन्त्रालय, हेटौंडा र बासगढी नगरपालिका, बर्दियालगायत निकायले एसएमएस गेटवे सेवा लिएका छन् । 

कुनै पनि सरकारी निकायले प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी एसएमएस सेवा प्रदायक (नेपाल टेलिकम र एनसेल) मार्फत सेवाग्राहीलाई एसएमएस पठाउने सुविधा हो– केन्द्रीकृत एसएमएस गेटवे प्रणाली । यसबाट सरकारी निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । यसले सरकारको खर्च कटौती गर्ने प्रविधि विभागको ठम्याइ छ । विभागले नेपाल टेलिकम र सरकारी निकायसँगको सहकार्यमा एसएमएस गेटवे सञ्जाल प्रयोगमा ल्याएको हो ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully