उनले तोडफोड र आगजनी गर्नेहरू कारबाहीको दायरामा आउनैपर्ने बताउँदै त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न नसकिने बताए ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेन–जीहरूबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्नेमा गम्भीर चिन्ता पैदा भएको बताएका छन्।
बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि जेन–जी समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशंका निजी क्षेत्रमा पैदा भएको बताएका हुन् । उनले तोडफोड र आगजनी गर्नेहरू कारबाहीको दायरामा आउनैपर्ने बताउँदै त्यति नभएसम्म निजी क्षेत्रको मनोबल उकास्न नसकिने बताए । उनले भने, 'जहिलेसम्म निजी क्षेत्रमा लगानीका लागि कन्फिडेन्स हुँदैन, त्यतिबेलासम्म रोजगारी सिर्जनादेखि राजश्व बढ्नसम्म सक्दैन।'
उनले नेपालमा निजी क्षेत्रको योगदानलाई आम जनतामा उसले दिएको रोजगारीका कुराहरूभन्दा पनि नकारात्मक कमेन्ट बाहेक केही नआउने भन्दै निजी क्षेत्रबारे आम जनतालाई बुझाउनुपर्ने बताए।
उनले निजी क्षेत्र रोजगारदाता, राजश्व तिर्ने क्षेत्र भएको र यसले पूर्वाधार बनाउने तथा आम सर्वसाधारणलाई सेवा दिने क्षेत्र हो भनेर संदेश दिनुपर्ने भएको बताए। उनले भने, 'जहिलेसम्म हामीले यो म्यासेज दिन सक्दैनौं, तबसम्म हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा परिरहन्छ।'
