समझदारीपत्र अनुसार नेपाल र कोरियाबीच द्विपक्षीय पर्यटन प्रवर्द्धन, आपसी मित्रता अभिवृद्धि तथा पर्यटन क्षेत्रका विभिन्न आयाममा सहकार्य विस्तार गर्ने लक्ष्य लिइएको छ ।
What you should know
काठमाडौँ — ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्र सन् २०२५ डिसेम्बर १५ (सोमबार)मा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा टानका अध्यक्ष सागर पाण्डे र काटाका उपाध्यक्ष किम बिओमजेले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा नेपालका लागि दक्षिण कोरियाका राजदूत महामहिम पार्क ताए–यङको पनि उपस्थिति रहेको थियो ।
समझदारीपत्र अनुसार नेपाल र कोरियाबीच द्विपक्षीय पर्यटन प्रवर्द्धन, आपसी मित्रता अभिवृद्धि तथा पर्यटन क्षेत्रका विभिन्न आयाममा सहकार्य विस्तार गर्ने लक्ष्य लिइएको छ । यसले दुवै देशका पर्यटन व्यवसायीबीच सक्रिय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
हस्ताक्षर समारोहमा काटाका महासचिव बे यङ चाङ, कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सेउङ वोनलगायत टानका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।
समझदारीपत्र अनुसार टानले काटा तथा कोरियाली ट्राभल एजेन्सीसँग सहकार्य गरी नेपाली पर्यटन उत्पादन र गन्तव्यहरूको प्रवर्द्धन गर्नेछ, जसले कोरियाली पर्यटकलाई नेपाल भ्रमण गर्न थप प्रोत्साहन गर्नेछ । साथै, कोरियाली पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सूचना आदान–प्रदान, सुरक्षा तालिम तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइनेछ ।
टानले कोरिया भ्रमण गर्न चाहने नेपाली पर्यटकलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूमा पनि काटासँग सहकार्य गर्नेछ । त्यसैगरी, काटाले नेपालमा कोरियाली पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम, अभियान तथा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्न टानसँग मिलेर काम गर्नेछ ।
साथै, कोरियाली ट्रेकर तथा पर्यटकको सुरक्षाका लागि आवश्यक सूचना, प्रविधि तथा अन्य सहयोग उपलब्ध गराउने र नेपाली पर्यटकलाई कोरिया भ्रमणतर्फ आकर्षित गर्ने पहलमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।
यस समझदारीपत्रले नेपाल–कोरिया पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) नेपालको ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रमा क्रियाशील एजेन्सीहरूको छाता संगठन हो ।
सन् १९७९ मा स्थापना भएको टानले नेपाली पर्यटन उद्योगलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने उद्देश्यका साथ काम गर्दै आएको छ । सरकारी निकाय तथा सरोकारवाला संस्थासँग सहकार्य गर्दै टानले पर्यटन प्रवर्द्धन, तालिम, वातावरण संरक्षण तथा साहसिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
