५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन, लक्ष्यभन्दा कम

चालु आर्थिक वर्ष सरकारले राजस्वमार्फत १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरेको छ ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Revenue collection of Rs. 409 billion in 5 months, below target

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो वार्षिक लक्ष्यको २७.४५ प्रतिशत हो । चालु आर्थिक वर्ष सरकारले राजस्वमार्फत १४ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरेको छ ।

पाँच महिनामा सरकारले गरेको राजस्व संकलन मंसिरसम्मको लक्ष्यको तुलनामा ७८.८४ प्रतिशत प्राप्ति भएको अर्थ मन्त्रालयले जनाएको छ । मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो ।

मंसिरको लक्ष्यको तुलनामा पनि सो अवधिमा संकलन भएको राजस्व कम हो । सरकारले मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८० अर्ब २७ करोड प्राप्ति गरेको मन्त्रालयले जनाएको छ । गएको पाँच महिनामा संकलन भएको राजस्वमध्ये मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो । जसमा मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये मंसिर २९ सम्मको संकलन ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । गत वर्षको मंसिरमा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

कान्तिपुर

Link copied successfully