देशभित्रै आशा र चलायमानको संकेत दिन पोखराको लेकसाइडमा र चितवनको सौराहामा दुई ठूला पर्यटन महोत्सव हुने भएका छन् ।
What you should know
काठमाडौँ — राजनीतिक अस्थिरता, महँगी, रोजगारीको अभाव र युवा पलायनले नेपाल पछिल्लो समय गहिरो निराशाको अवस्थाबाट समाज गुज्रिरहेको छ । भविष्यप्रतिको अनिश्चितताबीच नेपाली समाजले सास फेर्न खोजिरहेको यस समयमा, देशभित्रै आशा र चलायमानको संकेत दिन पोखराको सडकमा र चितवनको सौराहाको चउरमा दुई ठूला पर्यटन महोत्सव हुने भएका छन् ।
पर्यटकीय राजधानी पोखरामा हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि पुस १३ देखि १७ गतेसम्म लेकसाइड सडकमा सञ्चालन हुँदैछ ।
करिब दुई दशकअघि पोखराको पर्यटन सुस्त बन्दै गएको अवस्थामा स्थानीय पर्यटन व्यवसायीहरूको पहलमा सुरु भएको यो महोत्सवले २५ औँ संस्करण सम्पन्न गरिसकेको छ। सडकलाई नै उत्सवस्थल बनाउने अवधारणाबाट सुरु भएको पोखरा सडक महोत्सव समयक्रममा नेपालकै सबैभन्दा ठूलो, पुरानो र निरन्तर आयोजना हुँदै आएको पर्यटन महोत्सवको रूपमा स्थापित भइसकेको छ ।
पोखरा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष विश्वराज पौडेलका अनुसार यस वर्षको पाँचदिने महोत्सवमार्फत ५ देखि ६ लाखसम्म आन्तरिक पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखिएको छ । उनका अनुसार विदेशी पर्यटकहरू क्रिसमस मनाउन आफ्ना देश फर्किने समय भएकाले आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सवलाई अझ आकर्षक बनाइएको हो । पोखरामा रहेका करिब ४० हजार बेडलाई भरिभराउ बनाउँदै पाँच दिनमै प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सव अवधिभर लेकसाइडको मुख्य सडक दिउँसो ३ बजेदेखि सवारी साधनका लागि बन्द गरिनेछ । सोही सडकमा हस्तकला, माटोका भाँडा, पुनः प्रयोग गरिएका सामग्री, घरेलु उत्पादन, किसानले उत्पादन गरेका कृषि उपज, मह तथा मौलिक नेपाली खानाका स्टलहरू सजिनेछन् । चारवटा छुट्टाछुट्टै मञ्चमा देशका विभिन्न भूगोल र समुदायका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नयाँ वर्षको पूर्वसन्ध्यामा सडकमै काउन्टडाउन कार्यक्रम आयोजना गरिनेछ, जसका लागि सो दिन राति २ देखि ३ बजेसम्म सडक खुला रहनेछ ।
पोखरा सडक महोत्सव केवल खानाको प्रदर्शनी वा मनोरञ्जनको थलो मात्र नभई नेपालको सांस्कृतिक विविधताको जीवन्त प्रदर्शनी पनि हो । राई, मगर, गुरुङ, नेवार, थारु, मैथिली, ब्राह्मण, क्षेत्री लगायतका समुदायका संस्कृति, भेषभूषा र नृत्य एउटै सडकमा हिँड्दै अवलोकन गर्न सकिने दृश्य यही महोत्सवको विशेषता हो। यससँगै फेवातालमा ढुंगा दौड, खेलकुद गतिविधि तथा पोखरामा उपलब्ध प्याराग्लाइडिङ, स्काइडाइभिङ, जिपलाइन, हट एयर बेलुन र अल्ट्रालाइट उडानजस्ता साहसिक पर्यटन गतिविधिहरू पनि महोत्सवसँगै थप सक्रिय हुनेछन् ।
पोखराको सडक उत्सवले पर्यटनलाई तातो बनाइरहँदा, चितवनको सौराहामा भने जंगल, हात्ती र संस्कृतिको संगम देखिनेछ । जैविक विविधता र वन्यजन्तु पर्यटनको केन्द्रका रूपमा परिचित सौराहामा पुस ११ देखि १३ गतेसम्म १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदैछ । करिब ५० वर्षको इतिहास बोकेको चितवन पर्यटनलाई संस्थागत रूपमा स्थापित गर्ने उद्देश्यसहित २०५५ सालदेखि सुरु भएको यो महोत्सवले सौराहा र समग्र चितवनलाई विश्व पर्यटन नक्सामा चिनाउन उल्लेखनीय भूमिका खेल्दै आएको छ ।
क्षेत्रीय होटल संघ नेपाल (हान) चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार यस वर्षको महोत्सवमा करिब ७० देखि ८० वटा हात्ती सहभागी हुनेछन् । महोत्सवका क्रममा हात्तीको भव्य शोभायात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, स्वास्थ्य शिविर, हात्तीको दैनिकीबारे जानकारी, पालिका स्तरीय डुंगा दौड तथा हात्तीमैत्री प्रतियोगिताहरू आयोजना गरिनेछन् । यसका अतिरिक्त सफारी पर्यटन प्रवर्द्धनका लागि अतिथि पाहुनालाई हात्ती, जिप, डुंगा र पैदल वन यात्राको अनुभव गराइनेछ ।
महोत्सवले चितवनको आन्तरिक अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ । हान चितवनका महासचिव महेश खनालका अनुसार सौराहामा रहेका करिब १ सय ३० होटल र त्यति नै संख्यामा रहेका रेस्टुरेन्ट महोत्सव अवधिभर भरिभराउ हुनेछन् । तीनदिने महोत्सवले चितवन क्षेत्रमा ५० देखि ६० करोड रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गर्ने अनुमान गरिएको छ । यस वर्ष महोत्सवको अवसरमा होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ ।
पछिल्ला केही वर्षयता पशु अधिकार र संरक्षणका सवालमा उठेका आलोचनालाई ध्यानमा राख्दै यसपटक हात्ती महोत्सवलाई अझ संवेदनशील र उत्तरदायी बनाइएको आयोजक समितिको दाबी छ । धारिलो वा हानिकारक उपकरणको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ भने सबै हात्तीहरूको कार्यक्रमअघि र पछि पशु चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको छ । केवल दैनिक रूपमा हात्तीको हेरचाह गर्ने योग्य माहुतेलाई मात्र कार्यक्रममा सहभागी गराइनेछ। महोत्सवका गतिविधिहरू प्रतिस्पर्धाभन्दा परम्परा, समन्वय र सहअस्तित्वको सन्देशमा केन्द्रित गरी पुनःसंरचना गरिएको छ ।
आयोजकहरूका अनुसार हात्ती नेपाली धर्म, संस्कृति र पर्यटनसँग गहिरोसँग जोडिएको प्राणी हो । कोरोना महामारीका कठिन दिनमा पनि हात्तीको पालनपोषण निरन्तर गरिएको स्मरण गराउँदै आयोजक समितिले हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सह–अस्तित्वको जीवन्त उदाहरण भएको दाबी गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र स्थानीय तहको सहकार्यमा आयोजना हुने यो महोत्सवले सौराहासहित चितवनका अन्य पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
देशभर निराशा र अन्योलको माहोल फैलिएका बेला पोखरा सडक महोत्सव र चितवन हात्ती तथा पर्यटन महोत्सवले नेपाली समाजलाई केही समयका लागि भए पनि खुसी, उत्साह र आशाको अनुभूति दिने विश्वास गरिएको छ। घरमै बसेर दिक्क भएका, देशभित्रै घुम्न चाहने र नेपाली संस्कृति नजिकबाट अनुभूति गर्न चाहनेहरूका लागि यी दुई महोत्सव केवल घुमफिरका अवसर मात्र होइनन्, नेपालको पर्यटन अझै जीवित छ भन्ने प्रमाण पनि हुन् ।
