उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ४३८ उद्योगमा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको मंसिर महिनामा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५६ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।
साना ५४ र मझौला २ उद्योगमा लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ४३८ उद्योगमा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो अवधिामा ३३ हजार ८१४ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेको विभागले जनाएको छ ।
पाँच महिनामा सूचना तथा प्रविधिमा ५४ प्रतिशत, उत्पादनमा ६ प्रतिशत, कृषिमा ३ प्रतिशत, पर्यटनमा ३१ प्रतिशत र सेवा क्षेत्रमा ६ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।
चालु आर्थिक वर्षको साउन–मंसिरसम्म रोयल्टीबापत १ अर्ब ६२ करोड ६७ लाख ३१ हजार रुपैयाँ फिर्ता लैजान विभागले स्विकृती दिएको छ । विभागका अनुसार ६ लाख ४० हजार २३६ अमेरिकी डलर र १५ करोड ३३ लाख ५१ हजार ६८१ भारु (भारतीय रुपैयाँ) लैजाने स्वीकृत पाएको छ ।
